रौतहटको सदरमुकाम गौरस्थित एक घरमा पुनः आगलागी भएको छ। गत हप्ता आगलागी हुँदा तिन जना बालबालिकाको मृत्यु हुनुका साथै लाखौँको धनमाल नष्ट भएको घटनाको एक हप्ता नबित्दै पुनः आगलागी भएको हो।
गौर नगरपालिका ४ टिकुलियाका प्रितम पासवानको गोठमा आगलागी भएको हो। पशु चौपाया बाँध्ने गोठमा लामखुटे धपाउन बालिएको आगोबाट घुरमा सल्केको प्रारम्भिक अनुमान गरिएको छ। जाडोको मौसम भएकोले ग्रामीण क्षेत्रको अधिकांश घरमा आगो ताप्न घुर बाल्ने गरिएको छ। घुरबाट पनि आगो सल्केको हुन सक्ने प्रहरीको भनाइ छ।
आगोले गोठमा रहेका केही खसी, पाडो र चौपाया जलेको बताइएको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ, लाखौँको क्षति भएको पूर्वानुमान गरिएको छ।
आगो लागेको जानकारी पुग्नासाथ गौर नगरपालिकाको दमकल तथा प्रहरीको टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित: १२ मंसिर २०७९ १३:२७ सोमबार