coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मंसिर १८ पछि कहाँ फ्याकिन्छ पोखराको फोहाेर ?

पोखराको बाच्छेवुडुवास्थित ल्याण्डफिलसाइट। फाइल तस्बिरः नागरिक

आगामी जनावरी एकदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारीमा हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लागिपरेको छ। त्यही अनुसार विमानस्थलमा जडित उपकरण परीक्षण गर्न अहिले क्यालिब्रेसन फ्लाईट भइरहेको छ।  

प्राधिकरणले विमानस्थल संचालनका लागि तिब्ररुपमा तयारी गरिरहेपनि विमानस्थल संचालनको मुख्य बाधक मध्येको ल्याण्डफिलसाइट सार्ने काम अझै सुरु नै भएको छैन। पोखरा महानगरपालिकाले सहरको फोहर अहिले पोखरा–१४ को बाच्छेबुडुवामा व्यवस्थापन गरिरहेको छ। विमानस्थल र बाच्छेबुडुवाको ल्याण्डफिलसाइटको दूरी करिब २ किलोमिटर छ। ल्याण्डफिलसाइटका कारण चरा आकर्षित हुने त्यसले हवाई उडानमा अवरोध आउने विज्ञले बताइरहेका छन। त्यसैले जतिसक्दो छिटो ल्याण्डफिलसाइट सार्नुपर्ने दवावमा पोखरा महानगर छ।

प्राधिकरणले जतिसक्दो छिटो ल्याण्डफिलसाइट स्थानान्तरण गर्न भनिरहेपनि अहिलेसम्म फोहर कहाँ व्यवस्थापन गर्ने भन्ने टुंगोमा महानगर पुगेको छैन। तर, महानगरले प्राधिकरणलाई मंसिर १८ गते पछि हालको ल्याण्डफिलसाइटमा फोहर फ्याक्न रोकिने भनेर आश्वासन दिएको छ। मंसिर १८ पछि हालको ल्याण्डफिलसाइटमा फोहर नखसाल्ने भनेपनि सहरको फोहर कहाँ पठाउने भन्नेबारे अझै यकिन भइसकेको छैन।  

महानगरका सूचना अधिकारी जितेन्द्रजंग केसीले मंसिर १८ पछि हालको ल्याण्डफिलसाइटमा फोहर फाल्न बन्द हुने र त्यसपछि अहिले थुप्रिएको फोहर पुर्ने बारे प्राधिकरणलाई जानकारी दिएको बताए। ‘महानगरले मंसिर १८ गतेपछि बाच्छेबुुडुवामा फोहर नखसाल्ने भनेर प्राधिकरणलाई भनिसकेको छ। महानगरका कारण हवाई उडान र अवतरणमा अप्ठेरो नपर्ने भन्दै आश्वासन दिएको छ,’ केसीले भने, ‘महानगरले मंसिर १८ गतेपछि फोहर नफ्याक्ने भनेपनि सहरको फोहर कहाँ पठाउने भन्नेबारे अहिलेसम्म केही टुंगो छैन।’

महानगरका मेयर धनराज आचार्यले पोखराको फोहरलाई स्थायी रुपमै व्यवस्थापन गर्ने तयारी भइरहेको र फोहरका कारण विमानस्थल संंचालनमा बाधा नपर्ने भनेर यसअघि नै प्राधिकरणलाई आश्वासन दिएका थिए। तर, मेयर आचार्यले भने झै अहिलेसम्म स्थायी व्यवस्थापनका लागि काम भएको छैन। यतिसम्मकी फोहर व्यवस्थापन गर्ने स्थायी प्लान्ट जडान गर्ने समेत बताएका थिए। त्यसको तयारी स्वरुप टेण्डर आव्हान गर्ने तयारी भएको मेयर आचार्यले बताएका थिए। तर, महानगरका सूचना अधिकारी केसीले प्लान्ट जडानका लागि अहिलेसम्म टेण्डर प्रक्रिया नै सुरु नभएको बताए।

‘मंसिर १८ पछि बाच्छेबुडुवामा फोहर फ्याक्न रोकिने मात्र भनिएको छ। अरु स्थायी व्यवस्थापनबारे अहिलेसम्म कुनै निर्णय भएको छैन,’ उनले भने। मंसिर १८ पछि सहरको फोहर उठाएर कहाँ लैजाने भन्नेबारेमा आफुलाई समेत जानकारी नभएको  उनले बताए।  

महानगरका प्रवक्ता मोति तिमिल्सेनाका अनुसार बाच्छेबुडुवामा मंसिर १८ गतेपछि फोहर नफ्याक्ने भनेर प्राधिकरणलाई भनिसकेपनि त्यसपछि सहरको फोहर कहाँ लैजाने भनेर यकिन नभएको बताए। तर, फोहर व्यवस्थापनका लागि केही ठाउँ पहिचान गरिसकेको तिमिल्सेनाले जानकारी दिए। ‘मंसिर १८ पछि फोहर त बाच्छेबुडुवामा नफ्याक्ने भनिएको हो। तर, सहरमा संकलन भएको फोहर त्यसपछि कहाँ लैजाने भन्नेबारेमा पनि यकिन भएको छैन,’ उनले भने। उनका अनुसार फोहर व्यवस्थापनका लागि ठाउँ खोज्ने काम महानगरका लागि निकै नै सकसपूर्ण बनेको छ।  

यसअघि प्रस्तावित ठाउँमा स्थानीयबाट विरोध भएपछि महनगरले नयाँ ठाउँबारे बताएको छैन। ‘केही ठाउँमा फोहर फ्याक्न सकिने बारे करिब करिब अन्तिम निर्णय भईसकेको छ। तर, यही नै ठाउँ हो भनेर बताउन सक्ने अवस्था छैन। फोहर फ्याक्न सुरुवात पनि भएको छैन,’ प्रवक्ता तिमिल्सेनाले भने, ‘ठाउँ यकिन गर्नासाथ स्थानीयबाट विरोध आउने त्रास भयो। त्यसैले सबैतिर सहमति भएपछि मात्र फोहर फ्याक्ने ठाउँ सार्वजनिक गर्ने हो, तर, लगभग ठाउँ तोकिएको छ।’ 

आगामि जनवरी १ देखि विमानस्थल संचालनमा आउने भएपछि  फोहर व्यवस्थापनको यो समस्या जतिसक्दो छिटो सल्ट्याउनुपर्ने उनले बताए। ‘अरु सबै काम छाडेर अहिले महानगर फोहाेर व्यवस्थापनको टुंगोमा जुटेको छ। हामीसँग समय निकै नै कम छ,’ उनले भने।

प्रवक्ता तिमिल्सेनाका अनुसार हालको लयाण्डफिलसाइटलाई पुर्ने काम पनि सुरु भएको छ। लेखनाथस्थित रिट्ठेपानी डाँडा कटान गर्दा निस्केको माटो ल्याएर ल्याण्डफिलसाइट पुर्ने काम भइरहेको उनले बताए। ‘एकातिरबाट फोहर फ्याक्दै जाने काम भइरहेको छ। अर्काेतिर माटो ल्याएर पुर्ने काम पनि सुरु भएको छ,’ उनले भने, ‘पुर्दै र खसाल्दै जाँदा छिटो काम होला भन्ने हो।’ अहिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धानवमार्गको पूर्वपट्टि एप्रोचमा पर्ने रिट्ठेपानी डाँडाको उचाई कटौती भइरहेको छ। त्यहीको माटो निकालेर फोहर फ्याकेको ठाउँ पुर्न थालिएको उनले बताए।  

मेयर भारतमा

पोखराको फोहरको स्थायी व्यवस्थापनका लागि महानगरले अध्ययन पनि गरिरहेको छ । यही क्रममा मेयर धनराज आचार्य अहिले भारतको हैदरावाद गएका छन्। यसअघि मेयरसहितको टोली भारतको दिल्ली र नेपालकै धरान सहितका सहरको फोहर व्यवस्थापन अभ्यास हेर्न गएको थियो। ‘हैदराबादको फोहाेर व्यवस्थापन अभ्यास हेर्न मेयर अहिले भारत जानु भएको छ,’ महानगर प्रवक्ता तिमिल्सेनाले भने, ‘यसअघि पनि ठाउँठाउँको अभ्यास हेरेका हौ। तर, अझै सहज हुन्छ की भनेर अहिले मेयर आचार्य भारत जानु भएको हो।’  

पोखराले अहिले दुई सय रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापन गरिरहेको छ। पोखरामा दिनमा ३० वटा गाडीले सहरभित्रको फोहोर संकलन गर्छ। दिनमा करिब एकसय टन फोहोर ल्याण्डफिलसाइटमा फ्याक्ने गरिएको छ। त्यसबाहेक अस्पतालबाट निस्कने थप सातटन जति फोहोर हुन्छ। एउटा गाडीले दिनमा तीनट्रिपसम्म फोहोर उठाउने गरेको छ।  

प्रकाशित: १० मंसिर २०७९ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App