१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपालका नगरको विकासमा न्युयोर्कका मेयरसँग संवाद

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ वटा नगरपालिकाका मेयरबीच आपसी सम्बन्ध र नेपालको विकासबारे भर्चुअल संवाद भएको छ। बुधबार बिहान न्युयोर्कका मेयर एरिक एडम्स र नेपालका मेयरहरूबीच द्वीपक्षीय हित र साझेदारीका विषयमा भर्चुअल संवाद भएको हो।

न्युयोर्कस्थित अगुवा नेपाली समुदायको प्रयासमा भएको संवादबाट नेपालका नगरहरू र न्युयोर्क सहरबीच भगिनी सम्बन्ध राख्न, शैक्षिक तथा सांस्कृतिक आदानप्रदानका लागि बाटो खुलेको नेपाली समुदायका अगुवाले बताएका छन्।

न्युयोर्कका मेयर एडम्ससँगको भर्चुअल संवादमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत, धनगढीमाई नगरपालिका (सिरहा) का मेयर शिवशंकर महतो र सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला सहभागी थिए।

भर्चुअल संवादमा न्युयोर्कका मेयर एडम्सले नेपालसँग अमेरिका र न्युयोर्क सहरको भावनात्मक सम्बन्ध रहेको बताए। उनले कोरोना महामारीका बेला न्युयोर्कमा रहेका नेपाली समुदायका अगुवाहरूले महामारी नियन्त्रणमा गरेको योगदान र सहयोगको प्रशंसा गरे।

भर्चुअल संवादको सहजीकरण गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए। उनले नेपालका नगरहरू र न्युयोर्क सहरबीच भगिनी सम्बन्ध स्थापना तथा दीर्घकालीन रूपमा एक आपसमा हुनसक्ने व्यापार, सामाजिक, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान लगायतका परियोजनामा साझेदारीका लागि छलफल भएको बताए।

न्युयोर्क चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय परिषद् अध्यक्ष अमित शाहको अध्यक्षतामा भएको भर्चुअल संवादमा नेपालका मेयरहरूले द्वीपक्षीय सम्बन्ध र नगरहरूको विकासबारे आआफ्ना धारणा राखेका थिए।

त्यस अवसरमा न्युयोर्क सहरका मेयरको कार्यालयका डेपुटी कमिसनर आइसाता कामरा, अन्तर्राष्ट्रिय सम्बन्ध कमिसनर एडवार्ड मर्मेलस्टेन, मेयरको कार्यालयका अर्का डेपुटी कमिसनर दीलिप चौहानले नेपालका नगरहरूसँगको द्वीपक्षीय सम्बन्ध, र सहकार्यबारे धारणा राखेका थिए।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले संवादपछि नेपालका नगर र न्युयोर्क सहरबीच भगिनी सम्बन्ध र सहकार्यका लागि ढोका खुलेको प्रतिक्रिया दिए।

प्रकाशित: ८ मंसिर २०७९ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App