कपिलवस्तुमा घरेलु हिंसाका विषयमा पर्ने उजुरी मध्ये ९० प्रतिशत बढी मिलापत्रमा गर्ने गरिएको छ। विगत केही वर्ष अघि सम्म लाज, डर त्रास लगायतका कारण महिलाहरू आफूमाथि परेको घरेलु हिंसा सहेर बस्ने महिलाहरू अहिले भने खुलेर बाहिर ल्याउन थालेका छन्।
श्रीमान्, सासू, ससुरा लगायतबाट हिंसामा परेको उनीहरू अहिले भने न्यायका लागि बाहिर आउन थालेका हुन्। घरमा सीमित हुने घरेलु हिंसा बाहिर आए पनि जिल्लामा भने अधिकांश मुद्दा मिलापत्रमा समाधान गर्ने गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेल अनुसार कपिलवस्तुमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमा समाधान गर्ने गरिएको छ।
खान बस्न नदिएको, गाली गलौच गरिएको, कुटपिट, घरायसी झैझगडा, विवाह दर्ता नगराएको लगायतमा उजुरी पर्ने गरेको छ। जिल्ला प्रहरी कार्यालयमा ५ वर्षमा परेको कुल १ हजार ९३९ उजुरी मध्ये १ हजार ८१० मिलापत्र मै समाधान गरिएको छ।
गत आर्थिक वर्ष २०८२/०८३ मा कुल ३ सय ६३ उजुरी परेकोमा ३ सय ५१ मिलापत्रमा समाधान गरिएको थियो। १२ वटा मुद्दा मात्र थप कानुनी कारबाहीका लागि अदालत पठाइएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा कुल ५ सय ९ मुद्दा परेका थिए। त्यस मध्ये ४ सय ७६ मिलापत्रमा टुंगाइएको र बाकी २१ मुद्दा अदालत पठाइएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले बताए।
आर्थिक वर्ष २०८०/०८१ मा कुल ३ सय ४७ महिला हिंसाका उजुरी परेका थिए। जसमध्ये ३ सय १२ वटा मिलापत्र गरी समाधान गरिएको थियो। आर्थिक वर्ष २०७९/०८०मा ३ सय ५२ वटा परेको उजुरी मध्ये ३ सय २१ मिलापत्र र ३१ अदालत गएको तथा आर्थिक वर्ष २०७८/०७९मा ३ सय ५० उजुरी मध्ये १८ वटा अदालत गएको बाकी सबै मिलापत्र गरिएको थियो।
प्रहरी, र सरोकारवाला संघ संस्थाको पहलमा महिलामाथि हुने अनेक प्रकारका हिंसा र दुर्व्यवहारका गुनासो र समस्याहरु समाधान हुने गरेको सिंहले बताए। सक्दो प्रयास गर्दा पनि नमिल्ने उजुरी मात्र अदालत सम्म पुग्ने गरेको उनले बताए।
हरेक वर्ष यस्ता गुनासो र उजुरीको सङ्ख्या बढ्दै गए पनि महिलाहरूको हक अधिकारका लागि क्रियाशील संघ संस्था बिचको समन्वय र सक्रियतामा समाधान हुने गरेको छ। संघ संस्थाले मिलाउन नसके प्रहरीको सहयोगमा यस्ता समस्या समाधान हुने गरेको छ।
हिंसा र दुर्व्यवहारका उजुरी बढे पनि ९० प्रतिशत समस्या अदालत सम्म नपुगी समाधान गरिएको जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेलले देखाएको छ। घरेलु हिंसाका निवेदन मिलापत्र मै टुङ्गिने गरेको र पीडितहरू अदालत जान नचाहेकोले मिलापत्रको माग आउने गरेका प्रहरी नायब उपरीक्षक रितेन्द्र सिंहले बताए।
अरू भन्दा महिलाका समस्यालाई प्राथमिकता दिई समाधान गर्ने गरेको जिल्ला प्रहरी प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले बताए। घर सम्हाल्ने र चलाउने महिला नै अन्यायमा परे घर परिबार बिग्रने हुँदा समाजलाई नराम्रो असर पर्ने भएकाले प्राथमिकता दिई काम गर्ने उनले बताए।
विभिन्न कारण पीडित महिलाहरू अहिले खुलेर आफ्नो समस्या बाहिर ल्याउन थाले पछि न्याय पाउन थालेको महिला अधिकारका क्षेत्रमा क्रियाशील साथी संस्था महिला सेल्टरकी संयोजक विमला घिमिरेले बताइन। ‘हामी आफै पनि पहिले संस्थामै परिवारलाई बोलाएर छलफल गछौं यहाँ नभए प्रहरीमा लैजाने गछौं’ उनले भनिन्।
प्रहरीमा पुग्दा सम्म धेरै समस्या समाधान हुने उनले बताइन। जटिल र पुग्ने पर्ने मुद्दा मात्र अदालत लगिने गरिन्छ। ‘हिंसा पीडित महिलाहरू उजुरी गर्छन् तर कारबाही प्रक्रिया अघि बढाउन खोजिए आफै मिलापत्रका लागि अग्रसर हुन्छन्,’ प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले भने,‘पीडित आफै पछि हटे पछि उनीहरू कै माग बमोजिम घटनाहरू मिलापत्र हुने गरेका छन्।’
अदालती प्रक्रिया लामो मात्र नभई फैसला पछि परिबार मिलेर बस्ने अवस्था नहुने हुँदा पनि मिलापत्रमै जोड दिने साथी संस्थाकी विमला घिमिरेले बताइन्। महिलाहरू सचेतना र हिंसा गर्नेलाई कानुनी कारबाही हुने हुँदा पनि हिंसाका घटना अदालत सम्म पुग्दैनन्।
प्रकाशित: ११ श्रावण २०८३ १७:१० सोमबार





