४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

नयाँ शक्तिमा जेलेन्स्की प्रवृत्ति देखियो, देशलाई ५० वर्ष पछाडि धकेल्ने खतरा छ: थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ र वैकल्पिक शक्तिहरूमाथि प्रहार गरेका छन्।

बुधबार एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नाम नलिइकन काठमाडौंका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउने रास्वपाको प्रस्ताव र नयाँ शक्तिहरूको उदयलाई ‘युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रवृत्ति’ सँग तुलना गरेका हुन्।

रास्वपा सभापति रवि लामिछानेले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने सहमति गरेको विषयमा थापाले नयाँ शक्तिहरूको अपरिपक्वताले देश दुर्घटनामा पर्ने चेतावनी दिए।

थापाले नयाँ शक्तिहरूमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको जस्तो प्रवृत्ति देखिएको सुनाए।

उनले भने, ‘नयाँ उदाएका शक्तिहरूमा म कता-कता युक्रेनी राष्ट्रपति जेलेन्स्कीको प्रवृत्ति देखिरहेको छु। चर्का नारा दिएर लोकप्रियता हासिल गर्ने, त्यही जगमा जनमत लिने तर अपरिपक्वता र ‘एडभेन्चरिजम’ देखाएर मुलुकलाई बर्बाद पार्ने हो कि भन्ने आशंका छ।’

उनले हास्य कलाकारबाट राष्ट्रपति बनेका जेलेन्स्कीले भू-राजनीतिक यथार्थ बिर्सिंदा र पश्चिमाको बहकाउमा लाग्दा युक्रेन ५० वर्ष पछाडि धकलिएको उदाहरण दिँदै नेपालका नयाँ शक्तिहरूले पनि त्यस्तै बाटो समात्न सक्ने खतरा औंल्याए।

अध्यक्ष थापाले बालेन, रवि लगायतका नयाँ शक्तिहरू आपसमा मिल्ने वा गठबन्धन बनाए पनि उनीहरूको वैचारिक धरातल स्पष्ट नभएको जिकिर गरे।

‘उनीहरू जतिसुकै एकता, साँठगाँठ वा गठबन्धन बनाएर आउन्, सबैभन्दा पहिला त उनीहरूको वैचारिक धरातल के हो भन्ने नै थाहा छैन,’ थापाले भने, ‘उनीहरू कहाँबाट परिचालित छन् भन्ने रहस्य अझै उदाङ्गो भएको छैन। यिनको एजेन्डा के हो अझै थाहा छैन।’

हेर्दा राष्ट्रवादी र जनमुखी देखिए पनि नयाँ शक्तिहरूले देशलाई निकास दिन नसक्ने र उनीहरूको उदय रहस्यमय रहेको थापाको टिप्पणी थियो।

प्रकाशित: १६ पुस २०८२ १७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App