१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जुम्लामा दाउरा खोज्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

जुम्लाको तातोपानी गाउँपालिका–१ राँका गाउँमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। आइतबार दाउरा संकलनका क्रममा लडेर स्थानीय अन्दाजी ५० वर्षीया दुर्गा सार्कीको ज्यान गएको हो।

घटना दिउँसो करिब साढे १२ बजेतिर भएको हो। वन क्षेत्रको गाईचौर–उधेँरी खोला नजिक दाउरा टिप्दै गर्दा उनी चिप्लिएर भीरबाट खसेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिनबाबु रेग्मीका अनुसार सार्की भीरबाट करिब २ सय मिटर तल खसेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको थियो।

मृतक सार्कीसँगै दाउरा संकलन गर्न गएकी लक्ष्मी कठायतले आफ्नै आँखा अगाडि दुर्घटना भएको बताइन्। उनले भनिन्, ‘उहाँ असन्तुलित भएर चिप्लिनुभयो, म बचाउन चिच्याउँदै दौडिएँ तर केही गर्न सकिनँ।’

कर्णाली लगायतका ग्रामीण भेगमा महिलाहरू दैनिक इन्धनका लागि दाउरामा निर्भर रहनुपर्ने बाध्यता छ। भिरालो र जोखिमपूर्ण भू–भागमा गएर घाँस–दाउरा गर्नुपर्ने हुँदा यस्ता दुःखद घटनाहरू बारम्बार दोहोरिने गरेका छन्।

प्रकाशित: १४ मंसिर २०८२ १८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App