नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद र सांगठनिक संकट तत्काल नसुल्झाए देशकै पुरानो लोकतान्त्रिक पार्टी गम्भीर दुर्घटनातर्फ धकेलिने चेतावनी संस्थापन पक्षले दिएको छ।
पार्टीको १४औं कार्यसमितिको वैधानिकता कायम राख्दै पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५औं महाधिवेशन सम्पन्न गरी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता सो समूहले व्यक्त गरेको छ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा आयोजित देउवा समूहको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा पूर्वउपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो चेतावनी दिइएको हो।
इतिहासका विभिन्न सशस्त्र संघर्ष, जनमतसङ्ग्रह, सत्याग्रह र सत्ता गठबन्धनका कठिन मोडहरूमा पनि पार्टी एकजुट रहेको स्मरण गराउँदै प्रतिवेदनमा अहिलेको संकट समाधानका लागि बीपी कोइरालाको मेलमिलाप नीति अझ बढी सान्दर्भिक बनेको उल्लेख छ।
प्रतिवेदनले गत पुसमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा सम्पन्न विशेष महाधिवेशनलाई गैरवैधानिक र अनधिकृत ठहर गरेको छ।
निर्वाचित सभापतिसहितको कार्यसमिति भंग गरी महामन्त्रीहरूले नेतृत्व घोषणा गरेको कदमले पार्टीमा गम्भीर विभाजनको जग बसालेको आरोप लगाइएको छ।
‘यदि यो मतभेदलाई तत्कालै मेट्न सकिएन, समझदारी कायम भएन र विधानअनुकूल पार्टी सञ्चालन गरिएन भने कांग्रेस दुर्घटनाग्रस्त हुनेछ,’ प्रतिवेदनमा भनिएको छ।
१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिकै निर्णय अनुसार १५औं महाधिवेशन आयोजना गरिने बताउँदै देउवा पक्षले नेतृत्व पुस्तान्तरणमा आफ्नो विमति नरहेको जनाएको छ।
प्रतिवेदनमा उल्लेख छ, ‘पार्टी र देशको नेतृत्व हस्तान्तरण गर्नु हाम्रो उद्देश्य र प्रतिबद्धता हो। यसका लागि नयाँ पुस्तालाई वैचारिक स्पष्टता र समर्पण भावसहित तयार रहन हामी आग्रह गर्दछौं।’
यसैबीच, बन्दसत्र सुरु भएसँगै कार्यक्रमको ब्यानर फेरेर राष्ट्रिय भेलाबाट राष्ट्रिय सम्मेलन बनाइएको छ। प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माले पार्टी विधानले भेला नचिन्ने र अदालतबाट पुनरावलोकनको निस्सा पाइसकेकाले वैधानिकता पुष्टि गर्न विधानअनुसार सम्मेलन नामाकरण गरिएको जानकारी दिए।
प्रतिवेदनमा सामाजिक सञ्जाल प्रतिबन्ध र सुशासनको माग गर्दै भएको जेनजी आन्दोलनका क्रममा घटेका हिंसा, तोडफोड र गोलीकाण्डको निष्पक्ष छानबिन माग गरिएको छ।
आन्दोलन समापनपछि पनि पूर्वसभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायतका शीर्ष नेताहरूमाथि भएका लक्षित आक्रमणको मुख्य रहस्य अझै पर्दाभित्रै रहेकाले सत्यतथ्य बाहिर ल्याउनुपर्ने जिकिर गरिएको छ।
सम्मेलनमा सांगठनिक समितिका संयोजक उमाकान्त चौधरीले पार्टी पुनर्संरचना र विधान परिमार्जनसम्बन्धी महत्त्वपूर्ण प्रस्ताव पेस गरेका छन्।
प्रस्तावमा केन्द्रदेखि टोल तहसम्मका सबै समिति, क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिहरूमा कम्तीमा एक तिहाइ महिला र कम्तीमा एक चौथाइ ३० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने उल्लेख छ। कोटा नपुगे सम्बन्धित समितिले वैधता नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।
साथै, वडा तहको सभापति उम्मेदवार बन्न ५ वर्ष, अन्य सबै तहका सभापतिका लागि १० वर्ष र केन्द्रीय सभापतिको उम्मेदवार बन्न कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने मापदण्ड अघि सारिएको छ।
पार्टीभित्र आन्तरिक निर्वाचनमा केन्द्रको इसारामा प्यानल बनाउने विकृतिले तल्लो तहसम्म मनमुटाब बढाएको र निर्वाचन खर्चिलो हुँदा इमानदार कार्यकर्ता पाखा लागेको ठहर प्रतिवेदनले गरेको छ।
केन्द्रीय संसदीय बोर्डको केन्द्रीकृत र नातागोताकेन्द्रित अपारदर्शी टिकट वितरण प्रणालीले पार्टी पराजित भएको निष्कर्ष निकाल्दै अब उम्मेदवार चयनका लागि ५० प्रतिशत आन्तरिक गोप्य मतदान र ५० प्रतिशत आन्तरिक मूल्याङ्कनको नयाँ मोडल लागू गर्न प्रस्ताव गरिएको छ।
प्रकाशित: ३० श्रावण २०८३ १८:४८ शनिबार





