४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन्। प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै सरकारलाई उक्त निर्णय तत्काल सच्याउन आग्रह गरे।

महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरूलाई सामान्य आन्दोलनको रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै त्यसको अन्तर्य अहिलेका निर्णयहरूले नै पुष्टि गरिरहेको दाबी गरे। 'प्रहरी र अदालतजस्ता संवैधानिक निकायमाथि आक्रमण हुनु सामान्य विषय होइन,' उनले भने, 'यस्ता गतिविधिलाई ढाकछोप गर्ने निर्णयले हिंसा र अराजकतालाई प्रोत्साहन गर्छ।'

उनले ‘नयाँ शक्ति’ को नाममा कानुनी राज्यलाई चुनौती दिन नहुने उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सिद्धान्तको आधारमा यस्तो निर्णयको विरोध गर्न सक्नुपर्ने धारणा राखे। प्रहरीको मनोबल गिराउने कार्यले देशमा शान्ति–सुरक्षा कायम हुन नसक्ने बताउँदै उनले सरकारका गतिविधि सुरक्षा निकायको मनोबल बढाउनेतर्फ केन्द्रित नभएको आरोप लगाए।

राजनीतिक स्थायित्वबारे बोल्दै पोखरेलले दलहरू बलियो भए मात्र लोकतन्त्र बलियो हुने स्पष्ट पारे। उनले नेपाली कांग्रेसलाई समयमै सचेत भएर आन्तरिक एकता मजबुत बनाउन सुझाव दिए। संविधान र संसद् पुनःस्थापनाको बहसमा एमालेको धारणा स्पष्ट रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक मान्यतालाई सम्मान गर्दै निर्वाचनमार्फत् निकास खोज्न एमाले तयार रहेको बताए।

लोकप्रियतावाद लोकतन्त्रको विकल्प नभई अराजकतावादतर्फ धकेल्ने खतरा भएको उल्लेख गर्दै पोखरेलले अहिले पुरानो र नयाँ पुस्ताबीच कृत्रिम द्वन्द्व सिर्जना गरी समाज र देशलाई विभाजन गर्ने प्रयास भइरहेको बताए। 'नेपाली समाज सधैँ पुस्तागत सहकार्यबाट अघि बढेको हो,' उनले भने, 'विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताले मात्रै समृद्धिको बाटो खोल्छ।'

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि भइरहेका षड्यन्त्रविरुद्ध देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै महासचिव पोखरेलले लोकतन्त्र, शान्ति–सुरक्षा र कानुनी राजमाथि गम्भीर चुनौती बढ्दै गएको भन्दै राज्यलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरे।

उनले नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस टुक्रिनु दुःखद भएको टिप्पणी गर्दै लोकतान्त्रिक आन्दोलनका लागि यो नकारात्मक पक्ष भएको बताए। 'राजनीतिक दल कमजोर हुँदा लोकतन्त्र र राज्य दुवै कमजोर हुन्छन्,' उनले भने, 'बलिया राजनीतिक दलहरूले मात्रै बलियो राज्य निर्माण गर्न सक्छन्।' उनले कांग्रेसलाई अन्तरसंघर्षबाट एकतामा फर्किन ढिलाइ नगर्न आग्रह गरे।

प्रकाशित: १ माघ २०८२ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App