२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व गुमायो : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिएका नागरिक अगुवा डा. पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको बताएका छन्।

उनले भनेका छन्, ‘नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो।’

अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उनले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको थापाको भनाइ छ। सार्वजनिक जीवनमा उनले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेमा थापाले विश्वास व्यक्त गरेका छन्।

‘सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ।  उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ’, सभापति थापाले भनेका छन्।

डा. पाण्डेको शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको थियो। उनलाई शुक्रबार नै पाटन अस्पतालबाट निवास ल्याइएको थियो।

प्रकाशित: २ श्रावण २०८३ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App