२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

रविलाई जन्मदिनको शुभकामना दिँदै सोविताले भनिन् : साहस बोकेको मान्छेको जीवन उत्सव मनाउने दिन

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जन्मदिनमा शुभकामना दिएकी छन्।

गौतमले सामाजिक सञ्जालमार्फत लामिछानेलाई जन्मदिनको शुभकामना दिँदै उनको पत्रकारितादेखि राजनीतिक यात्रासम्मको स्मरण गरिन्। उनले सामान्य नागरिकको बेचैनीबाट असामान्य राजनीतिक यात्रा सुरु गर्ने साहस सबैसँग नहुने उल्लेख गरेकी छन्। स्थापित शक्तिहरू बलियो रहेको समयमा युवा पत्रकारका रूपमा लामिछानेले आजित नागरिक र दुःखी मनहरूको आवाज राज्यसामु पुर्‍याउँदै जवाफदेहिताको खोजी गरेको गौतमको भनाइ छ।

'एउटा सामान्य नागरिकको बेचैनीबाट असामान्य राजनीतिक यात्रा सुरु गर्ने साहस सबैसँग हुँदैन। स्थापित शक्तिहरू अत्यन्त बलिया रहेको समयमा एउटा युवा पत्रकारले आजित भएका नागरिक र दुखेका मनहरूलाई राज्यसँगै जवाफदेहीता खोज्दै मलम लगाउने प्रयत्न गर्नु ठूलो साहस थियो। नीति नै परिवर्तन गरेर जनताको हित गर्न पत्रकारिता काफी भएन,' उनले भनेकी छन्। 

पत्रकारिताबाट मात्रै नीति परिवर्तन गरी जनताको हित गर्न पर्याप्त नहुने महसुस भएपछि लामिछानेले राजनीतिक शक्तिमा रूपान्तरण हुने जोखिम उठाएको पनि गौतमले बताइन्।

त्यही साहसबाट राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएको भन्दै उनले आफू पार्टीको संस्थापक केन्द्रीय सदस्यका रूपमा त्यस सुरुवाती यात्राको हिस्सा बन्न पाउनु आफ्नो जीवनको गर्विलो अध्याय भएको बताएकी छन्।

गौतमले लेखेकी छन्, 'आज त्यो संघर्षको कथा सम्झाउने दिनभन्दा पनि त्यो साहस बोकेको मान्छेको जीवन उत्सव मनाउने दिन हो।'

प्रकाशित: २८ भाद्र २०८३ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App