हर्क साम्पाङको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकले राज्यबाट सुविधा नपाउने भएका छन्।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट श्रम संस्कृतिले प्रत्यक्षमा तीन र समानुपातिकमा चार गरी सात सिट जितेको छ। यस्तै राप्रपाले प्रत्यक्षमा एक र समानुपातिकमा चार गरी पाँच सिट जितेको छ।
यद्यपी यी दुबै पार्टीले राष्ट्रिय दलको मान्यता पाएपनि पार्टीका प्रमुख सचेतकले भने सरकारले दिने सुविधा लिन नपाउने भएका हुन्।
संघीय संसद सचिवालयका अनुसार कुनै पनि पार्टीका प्रमुख सचेतकले संसदबाट सुविधा लिन कम्तिमा १० जना सांसद हुनुपर्छ। श्रम संस्कृति र राप्रपाले सुविधा प्राप्त गर्न उक्त सीमा पार गर्न सकेनन्।
'१० जनाभन्दा कम सांसद् भएकाे पार्टीले प्रमुख सचेतक तोक्न पायो, तर प्रमुख सचेतक भएवापत दिइने सेवासुविधा भने लिन नपाउने व्यवस्था ऐनले नै गरेको छ।', संघीय संसद् सचिवालयका सहसचिव कान्छा दुलालले नागरिकसँग भने।
उनका अनुसार संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले मात्रै प्रमुख सचेतकको सुविधा पाउँछन्।
यसको परिभाषा खण्डमा भनिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधि सभामा दशजना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ।’
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ अनुसार दलको प्रमुख सचेतकले सवारी सुविधा र प्रथम स्तरको दुई जना सवारीचालक प्राप्त गर्ने उनले जानकारी दिए।
राष्ट्रिय मान्यता प्राप्त गर्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जितेको र समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ। यस्तो थ्रेसहोल्ड पार गरे पनि प्रमुख सचेतकको सुविधा पाउन १० जना भन्दा बढी सांसद भएको दल हुनुपर्ने व्यवस्था छ।
संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२, कांग्रेसका ३८, एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद छन्। यी चार दलका प्रमुख सचेतकले भने सुविधा पाउनेछन्।
यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले भने पार्टीलाई कुनै सुबिदा नदिने भए मन्त्रीहरुले पनि सुबिधा लिन नपाउने बताएका छन्। 'राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुबिधा नदिने हो भने मन्त्रीहरुले पनि सुबिधा नलिनु होला, सुरक्षाकर्मी पनि नलिनु, आफै हिँड्नु, काम छैन।,' उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
प्रकाशित: ८ चैत्र २०८२ १८:३७ आइतबार





