६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

चुनाव किन हार्‍यो कांग्रेसले ? हेर्नुहोस् केन्द्रीय समितिले गरेको ९ बुँदे समीक्षा

नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको हारबारे प्रारम्भिक समीक्षा गरेको छ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले १३ पृष्ठको प्रारम्भिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका हुन्। उक्त प्रतिवेदनमा निर्वाचन परिणाम र पराजयका कारणबारे विश्लेषण गरिएको छ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै तर्फ गरी जम्मा ३८ सिट मात्र जित्न सफल भएको थियो, जसलाई अपेक्षाभन्दा कमजोर नतिजाका रूपमा लिइएको छ।

उपसभापति शर्माले प्रस्तुत गरेको कांग्रेस पराजयको ९ बुँदा पढ्नुहोस्

१) परिमार्जनको प्रश्नमा गम्भीर नबन्नुको परिणाम

०७२ मा नयाँ संविधान बनेपछि, समग्रतामा नयाँ शैली र नयापनको अपेक्षा नागरिक पंक्तिमा थियो । तर राजनीतिमा र राजनीतिक दलहरूमा सोही अपेक्षा अनुरुप परिवर्तन र परिमार्जन गर्न हामीले सकेनौं । अझ स्पष्ट भन्नुपर्दा हामी परिमार्जनको प्रश्नमा गम्भीर नै भएनौं । फागुन २१ मा मुलधारका राजनीतिक दलहरूको पराजयको यो एउटा साझा कारण हो । यो यथार्थको पहिचान र आत्मस्विकारोक्ती जरुरी छ ।

२) स्थिर सरकार नपाउनुको असन्तोष

वितेको ७५ बर्षमा देशले लगातार ५ बर्ष शासन गर्न सफल प्रधानमन्त्री पाएन । यस्तो किन हुन गयो, यो अस्थिरता कसरी हल गर्ने, हामीले सुक्ष्म विश्लेषण गरेर स्थिरताको कुनै नवीन विधि तय गर्न सकेनौं । बितेको ३४ बर्षमा २५ वटा सरकार बने, यो अस्थिरताबाट नागरिक आजित थिए ।

पाँच बर्षे प्रधानमन्त्री र स्थिर सरकार हामीले दिन नसकेपछि आजित मतदाताले यसपटक अर्कोतर्फबाट स्थिरता भेट्न सकिन्छ कि भन्ने मन बनाए । हाम्रो पराजयको एउटा कारण यो पनि थियो ।

३) सरकार नयाँ, प्रधानमन्त्री पुरानैको पीडा

सरकारहरु अस्थिर रहँदा नागरिक असन्तुष्टि एकातर्फ छँदै थियो । तर सरकार बदलिएर नयाँ आउँदा पनि प्रधानमन्त्रीमा उनै उनै अनुहार दोहोरिइरहनु नागरिक पंक्तिलाई निरन्तर 'इरिटेट' गराउने उपक्रम थियो । यो उपक्रमले नेतृत्वप्रति नागरिकको विकर्षण बढाउँदै लग्यो, अन्ततः त्यसको शिकार सम्बन्धित राजनीतिक दलहरू पनि बन्न पुगे ।

४) नीति र थितिमा बेथितिको प्रश्न

सरकार बदलीरहे पनि देशलाई नीति र थितिको स्थिरता दिन नितिगत सुनिश्चितताको बन्दोबस्त मिलाउन जरुरी थियो । त्यसो हुँदा राजनीतिक अस्थिरताबाट समुन्नतिको यात्रालाई असर पर्न नदिने सतर्कता पुग्नसक्थ्यो । संसदीय शासन प्रणाली र सामाजिक न्याय सहितको उदार अर्थब्यबस्था साझा मार्गका रुपमा स्थापित भएकै छ, तर त्यसको प्रभावकारी सफलताका लागि कैयन नीति, कानुन अनि क्रमशः विकासको विश्वसनीय थितिको विकास गर्न हामी चुक्यौं ।

देश निर्माणको नीति र थितिमै कयौं बेथितिको प्रश्न उब्जिएपछि त्यसले नागरिक पंक्तिमा असन्तुष्टि बढ्नु स्वभाविक थियो । परिणाम हामीले भोग्यौं ।

५) निराशा झ्याङ्गिन शुरु भएको मोड

नयाँ संविधान निर्माण पश्चात् ०७४ को निर्वाचनबाट बनेको करीब दुई तिहाइको सरकारलाई समुन्नतिको मार्गमा 'नवीन डिपार्चर' को सुनौलो अवसर थियो । केन्द्रमा बलियो सरकार, पहिलो पटक उत्साहपूर्वक बनेका ७ प्रदेश सरकार अनि नवीन संरचना सहित, नवीन उर्जा बोकेका स्थानीय तह । नागरिकको आशालाई विश्वासमा बदलेर समुन्नतिमा फड्को मार्ने त्यो समय र त्यो सम्भावना नराम्रो दुर्घटनामा विसर्जित भयो । त्यसले एकातर्फ नागरिकको आशामा तुषारापात गर्यो, अर्कातर्फ असन्तुष्टि र निराशाको क्रम तीव्र ढंगले झ्याङ्गिन शुरु गयो ।

६) गठबन्धनले थप बढायो रोष र आक्रोश

नेकपाको आन्तरिक द्वन्द्वका कारण विघटित भएको प्रतिनिधिसभा जोगाउन नेपाली कांग्रेसले अग्रसरता लिनु तत्कालीन राजनीतिको आवश्यकता र बाध्यता दुवै थियो । तर संसद र संविधान रक्षाका लागि बनेको गठबन्धन चुनाव जित्नका लागि पनि प्रयोग भएपछि त्यसले पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि बिजारोपण गर्यो भने नागरिक पंक्तिमा 'गठबन्धन' शब्द नै क्रमशः अलोकप्रिय बन्न पुग्यो । नागरिकमा रोष र आक्रोशको आकार बढ्न / बढाउन यसले बल पुर्‍यायो ।

७) तीन किस्तामा प्रकट भएको नागरिक असन्तुष्टि

फागुन २१ को निर्वाचनमा भएको पराजय सामान्यतया अप्रत्याशित बुझ्ने / बुझिने गरिए पनि वास्तविकतामा यो लामो समयदेखि नागरिक पंक्तिमा जमेर बसेको असन्तुष्टि र निराशाको उत्कर्ष प्रकट थियो ।

आजको सत्य बुझ्न नागरिकको असन्तुष्टि यसअघि तीन किस्तामा प्रकट भएको तथ्य केलाउन जरुरी छ ।

• पहिलो- ०७९ को स्थानीय निर्वाचनमा ।

(काठमाडौ, धरान र धनगढीको निर्वाचनबाट)

• दोस्रो- ०७९ को संघीय निर्वाचनमा

(स्थानीय चुनाव लगत्तै बनेको दलको संसदमा प्रवेशबाट)  

• तेस्रो- भदौ २३ / २४ को जेनजी विद्रोहबाट ।

०७९ को स्थानीय निर्वाचनमा धरान, धनगढी र काठमाडौमा स्वतन्त्र उम्मेदवारहरुको विजयले नागरिकको असन्तुष्टिलाई भोटमा बदल्न सकिन्छ भन्ने बलियो संकेत दियो । सो संकेत बुझेर नै त्यो स्थानीय निर्वाचन लगत्तै नयाँ दलको जन्म भएको थियो ।

तर दल, सरकार र नेतृत्व सबै रुपान्तरित हौ भन्ने नागरिक सन्देश आत्मसात गरेर रुपान्तरणको प्रारम्भ हामीले गरेनौं । ०७९ को संघीय निर्वाचनपछि पनि हामीले बदलिन शुरु गरेनौं, रुपान्तरण र परिमार्जनका प्रस्तावहरु पार्टीभित्र आए तर तिनलाई कि निषेध गरियो कि नजरअन्दाज । जेनजी विद्रोहमा असन्तुष्टिको ज्वाला बिस्फोट भएपछि पनि हामीले 'आपतकालीन स्थिति' ठहर गर्दै पार्टीभित्र परिवर्तनको ढोका खोलेनौं । करीब सवासय दिन आन्तरिक बहसमा खेर फाल्यौं ।

यसरी शुरुमा तीन/ साढे तीन वर्ष अनि अन्तिममा सवासय दिन खेर फालेर, अहिले हामी हिसाब खोज्दैछौं- विशेष महाधिवेशन पछि बाँकी बचेको केवल ५० दिनमा परिणाम हाम्रो पक्षमा किन आएन ? यो प्रश्न सोझै खारेज योग्य छ । भावनात्मक आवेग र पुर्वाग्रहमुक्त भएर हामीले विगतको केस्रा केस्रा केलाउनै पर्छ, तब मात्रै वर्तमान पराजयको वस्तुगत समिक्षा हुन सक्दछ र तब मात्रै भविष्यका लागि सहि मार्ग प्रशस्त हुन सक्दछ ।

८) व्यवहारवादका नाममा विरोधाभास

०७९ को निर्वाचनबाट हामी प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेका थियौं । तर न सरकारको नेतृत्व गर्न सक्यौं न निरन्तर प्रतिपक्षमा बस्न तयार भयौं । अघि माओवादीसँग चुनावमा गठबन्धन, पछि एमालेसँग सत्ता गठबन्धन ।

व्यवहारवादका नाममा हामी विरोधाभासको दलदलमा फस्यौं, यसले पार्टी पंक्तिमा चरम असन्तुष्टि र नागरिक पंक्तिमा चर्को वितृष्णा बढायो ।

९ ) प्रतिपक्षी स्वर कमजोर बनाउनु ठूलो गल्ती

कांग्रेस-एमालेको गठबन्धन सरकार हाम्रो परिपक्व विश्लेषण र दुरदर्शी सोचको उपज थिएन, पार्टीको महामन्त्री तहमा समेत संवाद नगरी अपारदर्शी ढंगले रातारात भएको सम्झौता थियो ।

संसदमा रहेका मुख्य दुई दल मध्ये एकले नागरिक असन्तुष्टिको रचनात्मक प्रतिनिधित्व गरेर संसदमा प्रतिपक्षी कित्ता सम्हाल्नै पर्दथ्यो ।

विपक्ष जब सत्तापक्ष बन्न पुग्छ, तब संसदमा प्रतिपक्षी स्वर कमजोर बन्छ । लोकतन्त्रमा नागरिकका असन्तुष्टि र मुद्दा संसदमा गर्जिने स्वर कमजोर बनेपछि तब ती असन्तुष्टि र मुद्दालाई सडकमा अरु कसैले गड्गडाएर लैजान सक्छ । भयो त्यही ।

आफ्ना गुनासा, विमती, असन्तुष्टि र प्रश्न संसदमा प्रस्तुत भइरहेको आभास र विश्वास नागरिकमा नरहँदा उ स्वयं ती प्रश्न बोकेर सडकमा पुग्छ । भयो त्यही ।

अन्ततः संसद बाहिरको स्वर सामाजिक संजाल मार्फत थप बलियो बन्न शुरु भयो, त्यो स्वरले जेनजी विद्रोहमा प्रमुख भुमिका निभायो, अनि त्यही स्वर फागुन २१ गते हामी विरुद्धको मतमा रुपान्तरण हुन पुग्यो ।

प्रकाशित: ६ चैत्र २०८२ १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App