पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ सम्बोधन नगर्न भनेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्कीले आमा भनेर सम्बोधन गरिएको विषयमा असन्तुष्टि व्यक्त गरेकी छन् ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मा लाई सिफारिस गरेपछि कार्कीले सार्वजनिक रूपमा असहमति जनाउँदै आएकी थिइन् । उनले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल लाई प्रधानन्यायाधीशमा सिफारिस नगर्नु सरकारको गम्भीर गल्ती भएको टिप्पणी गरेकी छन् ।
शनिबार काठमाडौंस्थित राष्ट्रिय सभा गृह मा आयोजित कानुन दिवस कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ भनेर सम्बोधन गरेका थिए । त्यसपछि कार्कीले प्रतिप्रश्न गर्दै “कसले आमा भनेको ?” भनेकी थिइन् । साहले आफूले सम्बोधन गरेको बताएपछि कार्कीले आक्रोश मिश्रित शैलीमा “तिमीहरूको आमा नै फेरिइसक्यो” प्रतिक्रिया दिएकी थिइन् ।
त्यसपछि साहले “केही फरक पर्दैन, आमा फेरिँदैन” भन्दै प्रतिक्रिया दिन खोजेका थिए । जवाफमा कार्कीले आफूलाई आमा नभनी सविना काफ्ले लाई आमा भन्न आग्रह गर्दै “बालेनको श्रीमतीलाई आमा भन” भनेकी थिइन् ।
साहले फेरि “तपाईं देशकै आमा हो” भन्न खोजेपछि कार्की “होइन, होइन” भन्दै त्यहाँबाट अघि बढेकी थिइन् । सञ्चारकर्मी साहले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ ।
प्रकाशित: २६ वैशाख २०८३ २१:१० शनिबार





