२८ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

सरकारसँग निकट देखिएका धार्मिक गुरु श्रीनिवास सत्तारुढकै सांसदसँग किन आक्रोशित ?

धर्म गुरु आचार्य श्रीनिवासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह र प्रमुख सचेतक क्रान्तिशिखा धितालप्रति आक्रोश व्यक्त गरेका छन्। 

आइतबार एक कार्यक्रममा बोल्दै उनले संसदमा आफूमाथि प्रश्न उठाएका सांसद सिंह र धितालको  टिप्पणी गरेका हुन्। आचार्य श्रीनिवासले सांसद अमरेशकुमार सिंहले रास्वपा र वर्तमान सरकारलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन्। 

‘तपाईं यो रास्वपालाई भाँड्न आउनुभएको हो। तपाईं यो रास्वपालाई फुटाउन आउनुभएको हो। तपाईं यो दुई तिहाइको सरकारलाई बिगार्न आउनुभएको हो,’ उनले भने। 

उनले सिंहलाई ‘नैतिकता नभएको’, ‘नाङ्गिएको’ र ‘लज्जास्पद नेता’ भन्दै व्यक्तिगत टिप्पणी गर्दै धर्मगुरुहरूमाथि प्रश्न उठाउने अधिकार नेताहरूलाई नभएको उनको बताए। 

सिंहलाई लक्षित गर्दै उनले भने, ‘अमरेशजी, तपाईं तराईको नेता, जनकपुरको मिथिला नगरीको ठाउँको भएकाले मैले तपाईंलाई धार्मिक नेता मान्थेँ। तर तपाईं स्वाँठ हुनुहुँदो रहेछ।’ आचार्य श्रीनिवासले आगामी निर्वाचनमा हिन्दु समुदायबाट सिंहले पाउने नपाउने भन्दै समेत बताए।

यसैगरी रास्वपा प्रमुख सचेतक धितालले आफूलाई ‘विवादित गुरु’ भनेको विषयमा पनि उनले आपत्ति जनाए। उनले धिताललाई रास्वपाको चुनावी लहरका कारण सांसद बनेको भन्दै बताए। 

‘तपाईं त चाउचाउको पोकामा चिट्ठा परेजस्तो, घण्टी छाप र बालेनजीको ह्विममा चुनाव जितेर आउनुभयो,’ उनले भने, ‘तपाईंहरू सांसदको उम्मेदवार उठेको पनि जनतालाई थाहा थिएन।’ 

आचार्य श्रीनिवासले आफूहरूले समाजमा अस्पताल, एम्बुलेन्स, विद्यालय, कलेज तथा खानेपानीका संरचना निर्माणमा सहयोग गरेको बताए।  

‘हामीले हस्पिटल बनाएका छौँ। हामीले एम्बुलेन्स किनेका छौँ। हामीले विद्यालय बनाएका छौँ। हामीले कलेज बनाएका छौँ। हामीले खानेपानीको ट्याङ्की बनाइदिएका छौँ,’ उनले भने। 

प्रकाशित: २८ भाद्र २०८३ १७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App