२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री

फाइल।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खनालले विगतका वर्षहरूमा राजनीतिक असन्तुष्टि तथा अस्थिरताले विकास र आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले भने- ‘देशमा राजनीतिक असन्तुष्टि जसरी पनि प्रकट भए पनि यहाँ जो कोहीले गरेको सम्पत्ति सिर्जना नेपालको सम्पत्ति नै हो भन्ने बुझाइ सबैतिर हुनुपर्छ।’

मन्त्री खनालले बढ्दो प्रविधि प्रयोगसँगै सूचनाको आधिकारिकता र त्यसले पार्ने प्रभावबारे सचेत हुनुपर्ने आवश्यकता औँल्याए।

सञ्चार क्षेत्रमा आउने गलत तथा अप्रमाणित सूचनाले अन्तरराष्ट्रिय सम्बन्ध र लगानी वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै उहाँले सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

‘उचित सन्देश तथा सही सूचनाले निजी क्षेत्रमा सकारात्मक सोच विकास हुन्छ, लगानीकर्ताको मनोबल बलियो बन्छ। त्यसैले सूचना प्रवाहको संवेदनशीलता बुझ्नैपर्छ”, मन्त्री खनालले स्पष्ट पारे।

पछिल्लो समय सरकार ठूला पूर्वाधार आयोजनामा बजेट थप्दै काम अगाडि बढाइरहेको उनले जानकारी दिए।

साथै, पुँजी बजारका विद्यमान समस्या समाधान गर्न तथा पूर्वविशिष्ट पदाधिकारीको सेवा–सुविधालाई कानुनी ढाँचामा ल्याइ नियमन गर्ने कार्य भइरहेको उनले उल्लेख गरे।

अर्थमन्त्री खनालले नेपालको अर्थतन्त्रले भोगेका आरोह–अवरोहमा सेजनले मार्गदर्शकको भूमिकामा रहेर जिम्मेवार र पेशेवर पत्रकारितालाई प्रवर्द्धन गर्दै आएको प्रशंसा गरे।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आउने दिनमा आर्थिक सबलीकरण, आन्तरिक उत्पादन वृद्धि, उत्पादकत्व विस्तार तथा रोजगारी सिर्जना सरकारका प्रमुख लक्ष्य हुने बताए।

‘सरकार तोकिएको समयमा निर्वाचन गर्ने, सुशासन कायम गर्ने र सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढिरहेको छ’, मन्त्री सिन्हाले भने। उनले आर्थिक गतिविधि वृद्धि गर्न निजी क्षेत्रलाई सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा लिई काम भइरहेको तथा जेनजी आन्दोलनको मर्मलाई नबिर्सी सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिए।

गत भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने तथा घाइते परिवारलाई सरकारले जिम्मेवारीपूर्वक हेरिरहेको बताउँहुँदै मन्त्री सिन्हाले सुशासन र भ्रष्टाचार निवारण सरकारको मुख्य अभिभारा रहेको स्मरण गराए।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अहिले नेपालको अर्थतन्त्रले भोगिरहेको मुख्य चुनौती तरलता व्यवस्थापन रहेको बताए।

बैंक तथा वित्तीय क्षेत्रभित्र पर्याप्त तरलता र न्यून ब्याजदर भएकै परिस्थितिमा पनि ठूलो पूर्वाधारमा लगानी विस्तार हुन नसक्नु चिन्ताको विषय भएको गभर्नर पौडेलले बताएका हुन्।

उनले मौद्रिक नीतिमा राखिएका प्रावधानको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षित परिणाम आउन नसकेको उल्लेख गरे।

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाको लगानी केही निश्चित क्षेत्रमा केन्द्रित भएको बताउँदै स्थानीय आवश्यकताअनुसार कर्जा विस्तार गर्नुपर्नेमा जोड दिए।

विशेषगरी कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन सके आर्थिक गतिविधि बलियो रूपमा अगाडि बढ्ने उनको तर्क छ।

‘कर्जा विस्तार गर्दा जोखिम व्यवस्थापनसँगै स्थानीय आर्थिक प्राथमिकता हेरिनुपर्छ। उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ’, उनले भने।

प्रकाशित: १५ मंसिर २०८२ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App