१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सहकारीको पैसा ठग्ने जो भए पनि छोडिन्न: नेता अधिकारी

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सहकारी ठगी गर्ने कसैलाई पनि नछाड्ने बताएका छन ।  

शुक्रबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै नेता अधीकारीले पछिल्लो समयमा सहकारीमा देखिएको विकृतिलाई अन्त्य गरी साना तथा थोरै लगानीका पुजीहरूको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए ।  

उनले  भने, 'यस्तो अवस्थामा सहकारीको रकम दुरुपयोग गर्ने कसैलाई पनि छाडिने छैन । उनीहरुलाई कारबाही गरिनेछ ।’

उनले अहिलेको राजनीतिक निकासका लागि संसद पुनर्स्थापना महत्वपूर्ण भएको बताए । संसद पुनर्स्थापना छोटो समय गरेर त्यस मार्फत संविधान संशोधन गरी बाहिरको मानिसलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गर्ने र त्यसको आधारमा र राजनीतिक दलले स्वीकार गर्ने व्यक्तिको नाममा सहमति गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा राखे ।  

संविधान र लोकतन्त्रलाई लिकमा ल्याएर अगाडि बढ्नका लागि पनि संसद पुनर्स्थापना महत्वपूर्ण भएको उनले दाबी गरे । अहिलेको सरकार केही समयमै ढल्ने उनले बताए ।  

'यस्तै हो भने एक डेढ महिनामा मै सरकार ढल्छ,’ उनले भने, 'अहिले देख्नुभएन उनीहरुकै मानिसले मन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्न थालिसके। त्यसैले पनि सरकार लामो जान्छ जस्तो देख्दिन।’

उनले अहिलेको सरकार राजा ज्ञानेन्द्रले गरेको चुनाव जस्तो गर्न मात्रै सक्ने खालको भएको बताए । उनले भने, 'राजा ज्ञानेन्द्रले पनि सत्ता हातमा लिएर एउटा चुनावको नाटक गरेका थिए । त्यसको केही अर्थ भएन के अहिलेको सरकारले त्यस्तै चुनाव गर्न चाहेको हो ।’

नेता अधिकारीले भने, 'यो सरकार चुनावका लागि नै होइन । चुनावको लागि हुन्थ्यो भने प्रहरीको मनोबल बढाउने र लुटेका हतियार फिर्ता गर्ने र शान्ति सुव्यवस्था कायम गर्ने तर्फ लाग्थ्यो । तर सरकारले त्यसो गर्न सकेको छैन । त्यसो हुनाले यो सरकारले चुनावै गराउन सक्दैन।’

प्रकाशित: २१ कार्तिक २०८२ १६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App