नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा घरबारविहीन नागरिकलाई सरकारले घर बनाइदिनुपर्छ भन्ने अवधारणा र कार्यक्रम आफूले सुरु गरेको बताएका छन्।
बिहीबार बाँकेको नेपालगञ्जमा आयोजित जिल्ला स्तरीय ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा विपन्न नागरिकका लागि ‘जनता आवास कार्यक्रम’ ल्याएको स्मरण गरे।
सम्बोधनका क्रममा नेता नेपालले प्रश्न गर्दै भने, ‘यो देशमा घर नभएका मान्छेलाई सरकारले घर दिनुपर्छ भनेर निर्णय गर्ने प्रधानमन्त्री को थियो ?’ लगत्तै आफैँले उत्तर दिँदै उनले भने, ‘म थिएँ। मैले २०६६ सालमा जनता आवास कार्यक्रम सुरु गरेको थिएँ।’
नेता नेपालले गरिब जनतालाई वर्गीकरण गरेर आवास सुविधा दिने नीति आफूले बनाएको बताए। ‘एक पैसा तिर्न नसक्नेलाई निःशुल्क घर दिने, थोरै तिर्न सक्नेलाई थोरै रकम लिएर र मध्यम वर्गीयलाई सस्तोमा घर उपलब्ध गराउने नीति मैले ल्याएको हुँ,’ उनले भने, ‘घरबारविहीनलाई घरबारको व्यवस्था गर्नु राज्यको दायित्व हो।’
उनले गाँस, बास र कपासको ग्यारेन्टी नै समाजवाद भएको बताए। ‘बाँस, गाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी; यी ६ वटा कुराले नै मान्छेको जीवन चल्छ,’ नेपालले भने, ‘जुन राज्यले जनताको यो समस्या सुन्दैन, त्यो सरकारको कुनै काम छैन।’
नेता नेपालले सुकुम्बासी समस्या समाधानका लागि विगतमा कम्युनिष्ट सरकारले नै पहल गरेको जिकिर गरे। २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुकुम्बासी समस्या समाधान आयोग बनाएर ६० हजार परिवारलाई जग्गा बाँडेको इतिहास पनि उनले स्मरण गराए।
गरिब, विपन्न र बेसहाराको पक्षमा बोल्ने र काम गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी मात्र भएको उनको दाबी थियो।
प्रकाशित: २५ मंसिर २०८२ १८:१५ बिहीबार





