धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मुझेलिया गाउँमा बुबा सोगराथ र आमा रोणुका ६ सन्तानमध्ये एक हुन्, उपसभामुख रुबी कुमारी।
प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिएकी छिन्।
उनी हर्कराज राई (हर्क साम्पाङ) को श्रम संस्कृति पार्टीसँग अचानक जोडिएकी होइनन्। उनी साम्पाङको काम देखेर पहिल्यै प्रभावित भइसकेकी थिइन्। चुनावअघि जब उनले श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङसँग भेटिन्, त्यो भेटले उनलाई साम्पाङ समर्थक मात्र बनाएन, सक्रिय राजनीति गर्ने ऊर्जा प्रदान गर्यो र संघीय संसद्को सांसद यात्रा तय गर्ने बाटो खोलिदियो। उनी संघीय संसद्को सम्भवतः कान्छी सांसद बन्दै नेतृत्वतहमा पुग्न सफल भइन्।
मुझेलिया गाउँमा हजाम (कपाल काट्ने) पेसाका परिवारमा जन्मिएकी उनको परिवार आर्थिक रूपमा कमजोर छ। यसमाथि चार बहिनी र दुई भाइको अध्ययन पूरा गराउने जिम्मेवारी। चार छोरीको विवाहले ठाकुर परिवारलाई अझ चिन्तित बनाएको थियो, जसलाई परम्परागत पेसाबाट पार लगाउन नसक्ने महसुस गरी सोगारथ खाडीतिर हान्निएका थिए। खाडीमा श्रम गरेर आर्जन गरेको रकमले छोरीहरूको विवाह गरे। छोराछोरी पढाए। छोरी सांसद बनेको खबर पाएपछि सोगारथ वैदेशिक रोजगार छाडेर घर फर्किएका छन्। आमा रेणु गृहिणी हुन्।
उनले २०७४ सालमा स्थानीय विद्यालयबाट एसइई उत्तीर्ण गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट तीनवर्षे डिप्लो (इन्जिनियरिङ) अध्ययन पूरा गरिन्। पढाइ सकिएपछि उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गर्न थालिन्। सांसद बन्नुअघिसम्म उनी त्यहीं कार्यरत थिइन्। करिब सात महिनासम्म उनले नक्सा बनाउने, टुडी र थ्रिडी डिजाइनजस्ता प्राविधिक काम गरिन्, जहाँ उनले मासिक २० हजार कमाउँथिन्। त्यही कमाइले उनी भाइबहिनीलाई पढाइ खर्च पुर्याउँथिन्।
सामाजिक सञ्जालमार्फत उनले हर्क साम्पाङका गतिविधि नियाल्दै आइरहेकी थिइन्। उनले साम्पाङमा ‘काम गर्ने नेता’ को फरक छवि देखिन्। जब चुनावी अभियानका क्रममा हर्क साम्पाङ धनुषा पुगे, पहिलो पटक साम्पाङलाई भेट्न पुगिन्। पहिलो भेटमै उनले साम्पाङको भाषण अन्य नेताभन्दा फरक पाइन्। स्पष्ट दृष्टिकोण, कामप्रतिको प्रतिबद्धता र मेहनतले उनलाई प्रभावित बनायो। उनको विचारबाट प्रभावित रुबीलाई महसुस भयो– अब सक्रिय रूपमा चुनावी अभियानमा भाग लिनुपर्छ। उनले मतदातासँग प्रत्यक्ष संवाद गरिन् र धनुषा–४ मा प्रचारको एक प्रमुख अनुहारका रूपमा उभिइन्। यसैबिच पार्टीले उनलाई मधेसी जनजाति क्लस्टरबाट समानुपातिक सांसदका रूपमा सिफारिस गर्ने निर्णय गर्यो। यो खबर उनका लागि अप्रत्याशित थियो।
रुबीले मधेसमा व्याप्त पछौटेपन, विभेद, महिला हिंसाबाट मधेसलाई छुटकारा दिलाउन पहल गर्ने बताएकी छिन्। विशेषगरी दाइजो प्रथा र बालविवाहजस्ता विषयलाई उनले आफ्नो कार्यसूचीमा समावेश गरेकी छिन्।
रुबी अब अध्ययनलाई पनि निरन्तरता दिन चाहन्छिन्। उनको बिई गर्ने लक्ष्य छ। शिक्षा र राजनीतिलाई सँगसँगै अघि बढाउने योजना छ। २६ वर्षको उमेरमै सांसद बनेकी रुबी अविवाहित छिन्।
घरदैलो अभियानबाट सुरु भएको रुबीकुमारीको राजनीतिक यात्रा छोटो समयमै संघीय संसद्सम्म पुगेको छ।
प्रकाशित: २७ चैत्र २०८२ १८:१६ शुक्रबार





