प्रतिनिधिसभा सदस्य पार्वती बिकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको गम्भीर समीक्षा गर्दै २४ गतेको आन्दोलन कसले र किन हाइज्याक गर्यो भन्ने प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भदौ २३ गतेको आन्दोलन वास्तविक जेनजी युवाहरूको आन्दोलन भएको बताएकी हुन्। जेनजीहरुले साना तथा जायज माग लिएर सडकमा आएको भए पनि भदौ २४ गते आन्दोलनले अर्कै रूप लिएको उनको भनाइ छ।
‘भदौ २३ गतेको जेनजी आन्दोलन साँच्चिकै वास्तविक जेनजीहरूको आन्दोलन थियो। जेनजीहरू साना मागहरू लिएर सडकमा गएका थिए,’ उनले भनिन्, ‘तर २४ गते जेनजी आन्दोलनलाई हाइज्याक गरियो। वर्षौँ लगाएर निर्माण भएका संरचनाहरू ध्वस्त बनाइए। कैयौँ भौतिक संरचना नष्ट भए र कैयौँ मानिसको जीवनसमेत प्रभावित भयो।’
बिकले २४ गते भएका घटनाले आन्दोलनलाई नै पीडादायक अवस्थामा पुर्याएको बताइन्। आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न त्यसबाट बनेको सरकारले सकेको छ कि छैन भन्ने विषय अहिले ठूलो चुनौती बनेको उनको भनाइ छ।
उनले जेनजी सहिद दिवसका अवसरमा गंगालक्ष्मी देवी बस्नेतले गरेको आत्मदाहको प्रयासप्रति समेत गम्भीर चिन्ता व्यक्त गरिन्। पीडित तथा आन्दोलनमा घाइते भएकाहरूले अझै न्याय र उपचार नपाउनु गम्भीर विषय भएको उनले बताइन्।
‘किन मानिसहरू आज आत्महत्या गर्ने अवस्थासम्म पुग्ने वातावरण सिर्जना भयो? घाइतेहरूको उपचार किन भएनरु सहिदका सपना किन साकार हुन सकेनन्?’ बिकले प्रश्न गरिन्।
उनले भदौ २४ गते सिंहदरबारलगायतका संरचनामा भएको आगजनी र तोडफोडको जिम्मेवार को हो भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताइन्। आन्दोलनमा सहभागी पक्षहरूले समेत भदौ २४ गतेका घटनाको जिम्मेवारी लिन नसक्ने बताइरहेको अवस्थामा घटनाको वास्तविकता बाहिर ल्याउनुपर्ने उनको माग छ।
बिकले राष्ट्रिय मानव अधिकार आयोगले यससम्बन्धी प्रतिवेदन तयार पारिसकेको भए पनि त्यसलाई सार्वजनिक नगरिएको भन्दै सरकारको आलोचना गरिन्।
‘मानव अधिकार आयोगले एउटा प्रतिवेदन पेश गरेको छ। त्यो प्रतिवेदन थन्काइएको र लुकाइएको छ। त्यसलाई बाहिर ल्याइएको छैन,’ उनले भनिन्, ‘यो प्रतिवेदन थन्काउने बेला होइन, कार्यान्वयन गर्ने बेला हो।’
प्रकाशित: २४ भाद्र २०८३ १३:४० बुधबार





-600x400.jpg)