२४ भाद्र २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडासँग व्यापारिक तनाव बढाउँदै अमेरिका, फेरि लगायो नयाँ प्रतिबन्ध

अमेरिका र क्यानडाबीच बढ्दो व्यापारिक तनावबीच अमेरिकाले क्यानडाबाट आयात हुने केही दुग्धजन्य पदार्थ, अधिकांश मदिराजन्य पेय पदार्थ तथा मोटरसाइकलमा रोक लगाउने भएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले मंगलबार यस्तो जानकारी दिएको हो। नयाँ प्रतिबन्ध सेप्टेम्बर २९ देखि लागू हुने जनाइएको छ।

यसअघि क्यानडाले अमेरिकाबाट आयात हुने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा मंगलबारदेखि जवाफी कर लागू गरेको थियो।

अमेरिकाले क्यानडाली वस्तुमा कर वृद्धि गरेपछि क्यानडाले यस्तो कदम चालेको हो। दुई देशबीचको व्यापारसम्बन्धी वार्ता गत महिना निष्कर्षविहीन भएपछि तनाव थप बढेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली वस्तुलाई ठूला तथा दीर्घकालीन अमेरिकी सरकारी खरिद सम्झौताबाट समेत बाहिर राख्ने निर्णय गरेका हुन्।

क्यानडाले अमेरिकी वस्तुका लागि ‘पूर्ण र न्यायोचित पारस्परिकता’ सुनिश्चित नगरेसम्म क्यानडाली उत्पादनलाई त्यस्ता सरकारी सम्झौतामा अयोग्य ठहर गर्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिइएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो देशको रणनीति क्यानडालाई आर्थिक रूपमा अझ आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित रहेको बताए।

उनले भने, ‘कुनै पनि देशले हामीलाई आफ्नो नियन्त्रणमा राख्न नसक्ने अवस्था सुनिश्चित गर्नु र हामीले आफ्नो इच्छाअनुसार जीवनयापन गर्न सक्ने वातावरण बनाउनु हाम्रो उद्देश्य हो।’

अमेरिकाले अगस्ट २२ मा क्यानडाबाट आयात हुने करिब पाँच प्रतिशत वस्तुमा ५० प्रतिशतसम्मको अतिरिक्त कर लगाएको थियो।

अमेरिकी दुग्ध, मदिरा तथा सवारीसाधन उद्योगलाई क्यानडाले अनुचित व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले यस्तो कदम चालेको थियो।

अमेरिका र क्यानडाबीच लामो समयदेखि व्यापारसम्बन्धी मतभेद रहँदै आएका छन्। विशेषगरी क्यानडाको संरक्षित दुग्ध बजार र काठ उत्पादकलाई दिइने सरकारी सहयोगलाई लिएर दुई देशबीच विवाद हुँदै आएको छ। यद्यपि, दुवै देश लामो समयदेखि घनिष्ठ मित्र तथा बलिया साझेदारका रूपमा रहँदै आएका थिए।

राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिका–क्यानडा सम्बन्ध भने तीव्र रूपमा बिग्रिएको छ। ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा समेत पटक–पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।

क्यानडाका प्रधानमन्त्री कार्नीले गत वर्ष राजनीतिक सफलता हासिल गर्दै ट्रम्पको दबाबका सामु क्यानडाको हितको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका थिए।

दुई देशबीच बढ्दो व्यापारिक टकरावले दशकौँदेखि कायम रहेको घनिष्ठ सम्बन्धमा समेत गम्भीर असर पार्ने चिन्ता बढेको छ।

प्रकाशित: २४ भाद्र २०८३ १७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App