राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। महामन्त्री धवलशमशेर राणा नेतृत्वको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि प्रश्न उठाउँदै नयाँ महाधिवेशनमार्फत ताजा जनादेश लिन माग गरेको छ।
आइतबार काठमाडौंमा सम्पन्न राणा पक्षधर नेताहरूको भेलाले वर्तमान कार्यसमिति भंग गरी निष्पक्ष व्यक्तिको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गर्न दबाब दिएको हो।
पार्टी अहिले सच्चिने कि सकिने भन्ने गम्भीर संकटमा रहेको विश्लेषण गर्दै राणा पक्षले नयाँ नेतृत्व चयन नै एक मात्र निकास भएको निष्कर्ष निकालेको छ।
भेलापछि जारी पत्रमा भनिएको छ, ‘केन्द्रीय महाधिवेशनबाट ताजा जनादेश प्राप्त गर्नुबाहेक उत्तम विकल्प राप्रपासँग छैन। केन्द्रीय कार्यसमितिको नियमित चार वर्षे कार्यकाल सम्पन्न भएर पार्टी हाल अतिरिक्त अवधिमा रहेकाले एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा गरिनुपर्छ।’
असन्तुष्ट पक्षले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी अध्यक्ष लिङ्देनले लिनुपर्ने माग गरेको छ। अध्यक्षको तत्कालीन चुनावी उद्घोषलाई स्मरण गराउँदै पत्रमा लेखिएको छ, ‘तपाईंले मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु भन्नुभएको थियो, तर नतिजा अकल्पनीय रूपमा नकारात्मक आयो।’
हारको समीक्षा गर्नुको साटो नेतृत्व पन्छिएको उनीहरूको आरोप छ।
राणा पक्षले हालै सम्पन्न उपसभामुखको निर्वाचनमा पार्टीले दिएको उम्मेदवारी पनि आलो घाउमा नुनचूक सरह भएको बताएको छ।
केन्द्रीय समितिमा छलफल नै नगरी लिइएको उक्त निर्णयले पार्टीको सैद्धान्तिक निष्ठामाथि प्रश्न उठाएको र यसमा नेतृत्व पूर्णतः चुकेको असन्तुष्ट पक्षको ठहर छ।
पार्टीभित्र शून्यता बढ्दै गएको र कार्यकर्ताहरूले पार्टी परित्याग गर्ने क्रम जारी रहेको भन्दै राणा पक्षले विधान र अनुशासन विपरीतका कार्यको छानबिन गर्न छुट्टै समिति गठन गर्नुपर्ने माग समेत राखेको छ।
यसैबीच, संस्थापन पक्षले भने असन्तुष्ट पक्षको माग र चुनावी समीक्षाका लागि आगामी वैशाख १६ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त बैठकमा पार्टीको आगामी रणनीति र महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ।
प्रकाशित: २९ चैत्र २०८२ १७:१४ आइतबार





