जेनजी सहिद परिवार र घाइतेहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेनजी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेटबाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै सहिद तथा घाइतेहरूको त्याग र बलिदानलाई अपमान हुने गरी अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका हुन् ।
उनीहरूले धितालले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले सहिद परिवार र घाइते समुदायको भावनामा चोट पुगेको आरोप लगाउँदै सार्वजनिक माफी माग्नुपर्ने माग गरेका छन् ।
जेनजी सहिद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले सहिद परिवारलाई सहयोग वा साथ नदिएका व्यक्तिले उल्टै उनीहरूको बलिदानलाई अपमान गर्ने अधिकार नरहेको बताए ।
सहिद प्रथम स्मृति दिवसलाई मनोरञ्जनात्मक कन्सर्टसँग जोडेर टिप्पणी गर्नु पीडित परिवारको भावनामाथि प्रहार भएको उनीहरूको भनाइ छ । साथै, धितालको अभिव्यक्तिबारे रास्वपाले गम्भीर समीक्षा गरी संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।
सहिद परिवार र घाइतेहरूले आफूहरूको योगदानलाई कुनै दलको राजनीतिक स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सम्मानको विषय बनाउनुपर्ने बताएका छन् । उनीहरूले सहिद तथा घाइते समुदायप्रति अपमानजनक अभिव्यक्ति दोहोरिन नदिन सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने मागसमेत अघि सारेका छन् ।
प्रकाशित: २९ भाद्र २०८३ १६:३७ सोमबार





