नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बसेको छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको पहिलो बैठकपछि दोस्रो बैठक भने पुस अन्तिम साता बस्ने तय भएको छ।
११ औँ महाधिवेशनले पदाधिकारीसहित केन्द्रीय कमिटीको निर्वाचन भए पनि पार्टीमा गर्नुपर्ने अन्य मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनका काम अझै बाँकी छ। ती कामहरू केन्द्रीय कमिटी बैठकबाटै गर्ने एमालेको परम्परा छ। पहिलो बैठकमा ती कुरा सम्भव नभएको एमालेका एक केन्द्रीय सदस्यले बताए।
पुसको अन्तिम साता(२६, २७ र २८ गते) बस्ने दोस्रो बैठकमै ती कामहरू हुने बैठकमा कुरा आएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
एमालेमा केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटीको आकार हुन्छ। एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय छ।
यस्तै केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने काम पनि बाँकी छ।
प्रकाशित: ४ पुस २०८२ १७:५५ शुक्रबार





