४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

..जब दुई महामन्त्री गएर देउवासँग भने: तपाईँसँग हार्ने निश्चित छ, तर लड्छौँ

देउवाले भने–भाइहरू मन्त्री होऊ, राम्ररी काम गर

पछिल्लो २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बनेको थियो। ८९ सिट जित्दै पहिलो बनेको कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए। 

कांग्रेसको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ। सोहीअनुसार कांग्रेसको नयाँ संसदीय दलको नेताको चुनाव हुने कार्यक्रम थियो। 

त्यस बेला संसदीय दलको नेतामा पार्टीको संस्थापन पक्षबाट देउवा नै उम्मेदवार बन्ने निश्चित थियो। संस्थापन इतर पक्षमा भने लामो रस्साकस्सी चलेको थियो। महामन्त्री गगन थापाले चुनावमै आफू प्रधानमन्त्रीका लागि अघि सर्ने भनेर भोट मागेका थिए। १४ औँ महाधिवेशनमा सभापतिमा देउवाको निकटतम प्रतिस्पर्धी रहेका डा. शेखर कोइराला पनि संसदीय दलको नेतामा भिड्न चाहन्थे। 

तर, इतर पक्षसँग देउवालाई हराउने अंकगणित भने थिएन। कोइरालामा टिमको नेता देखाइरहन लड्नै पर्ने दबाब थियो, महामन्त्री गगनलाई चुनावमा गरेको बाचाअनुरूप भिड्नैपर्ने नैतिक बाध्यता थियो। 

अन्ततः इतर पक्षमा सुलह भयो–गगन नै देउवासँग संसदीय दलको नेतामा भिड्ने भए। गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि दरिलो साथ थियो। 

आफू संसदीय दलको नेतामा भिड्ने तय भएपछि अर्का महामन्त्री विश्वप्रकाशसँगै देउवालाई भेट्न गएको बुधबार खुलासा गरेका छन्।  नागरिक फ्रन्टलाइन संवादमा कुरा गर्दै उनले सभापति देउवासँग भएको कुराकानी नै बताएका हुन्। 

‘संसदीय दलको निर्वाचन हुने भयो। हामी दुइटा महामन्त्री सभापतिलाई भेट्न गयौँ,’ महामन्त्री गगनले भने, ‘सभापतिले भन्नुभयो–तपाई मसँग किन चुनाव लड्नुहुन्छ ? तपाईँ हार्नुहुन्छ मसँग भन्नुभयो।’ 

त्यसको जवाफ अर्का महामन्त्री विश्वप्रकाशले फर्काएको उनले बताए । ‘विश्वप्रकाश शर्माले उहाँलाई भन्नुभयो–तपाई सँग हार्छौँ, हामीलाई थाहा छ ।  हामीसँग नम्बर छैन।’ 

त्यसपछि सभापति देउवाले मन्त्री बन्नेबारे जिज्ञासा राखेको पनि गगनले सुनाए। ‘उहाँले भन्नुभयो–भाइहरू चाहिँ के मन्त्री बन्ने हो? त्यो बेलामा त उहाँ(देउवा) नै प्रधानमन्त्री बन्ने कुरा थियो। मन्त्री बन्नुस्, काम गर्नुस् दुवै जना भन्नुभयो,’ गगनले भने। 

त्यसपछि विश्वप्रकाशले आफू मन्त्री नबन्ने कुरा सुनाएको उनले बताए। ‘विश्वप्रकाशले भन्नुभयो–म त अहिले मन्त्री बन्दिनँ । म भर्खर सांसद आएको छु, संसदमै बसेर काम गर्छु ।’ 

त्यसपछि आफूले भने संसदीय दलमा तपाईँसँगै लड्ने हो भनेको गगनले बताए। ‘मैले भने–म मन्त्री बन्ने होइन, म तपाई सँग लड्ने हो । म हार्छु थाहा छ, म हारे भने पनि तपाई सँग लड्नुपर्छ,’ गगनले कुराकानीको ब्यहोरा सुनाए। 

आफूले देउवालाई नै उनीसँग लड्नुपर्ने दुई वटा कारण प्रस्ट राखेको उनले बताए। ‘एउटा म मेरो निर्वाचन क्षेत्रमा मेरो मतदातालाई मलाई निर्वाचित गराएपछि म अहिले ड्राइभिङ सिटमा बसेको मेरो नेतासँग गएर लड्छु भनेर आएको मेरो बाचा हो, त्यो जबाफदेहिता मसँग हुनुपर्छ,’ गगनले अगाडि सुनाए, ‘दोस्रो हामीहरूले तपाईँको पुस्ताको नेताहरूलाई बिदा गर्नुपर्छ भनेर बाहिर बोल्ने, अनि ऐन मौकामा चाहिँ फेरी सरेन्डर गर्ने! यो चरित्र हामीले राख्यौँ भने भोलि नेतृत्व गर्न सक्दैनौँ।’ 

‘त्यसैले म अहिले तपाई सँग हार्ने हो’ भनेर भनेको उनले बताए। ‘हार्नलाई केही फरक परेन। मन्त्री म बन्दैन, अहिले मलाई बन्नु छैन। तर म हारे पनि तपाई सँग लड्नु पर्छ’ भनेर भनेको गगनले सुनाए। 

‘म लडे म हारेँ। बढी सहयोगले उहाँले जित्नुभयो’, उनले भने, ‘तर कस्तो भयो त समाजमा भने–जे होस् गगनले आँट राख्यो, मन्त्री हुन्छु भनेर पनि गएन।’ 

‘जे भएनि  देउवासँग लड्यो’ भन्ने कुरा समाजमा स्थापित भएको उनले दाबी गरे। आफू त्यसमा जितेको भए सायद प्रधानमन्त्री बन्ने अवस्था आउने उनले बताए। 

०७९ पुस ६ गते भएको कांग्रेस संसदीय दलको त्यो निर्वाचनमा देउवाले ६४ मत ल्याएर जित्दा गगनले २५ मत मात्रै प्राप्त गरेका थिए। 

प्रकाशित: ११ भाद्र २०८२ २०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App