जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा लागेको आगो कहिले निभ्यो? भन्ने विषयमा नेपाली सेना र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बोली बाझिएको छ।
नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेर जेन–जी आन्दोलनबारे घटनाको विवरण सार्वजनिक गर्दा प्रधानन्यायाधीश राउतले यसअघि नै सार्वजनिक गरेको बोली विपरीत धारणा राखेको छ।
पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले सर्वोच्च अदालतमा लागेको आगो भोलिपल्ट अर्थात् भदौ २५ गते नै निभिसकेको दाबी गरेका छन्।
‘सर्वोच्च अदालतको आगो भोलिपल्ट निभिसकेको छ,’ उनले भने, ‘अब तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाइएको हो भन्ने कुराहरू पनि समाचारमा आएको छ । म त्यतातिर खण्डन गर्न पनि चाहन्नँ।’ उनले भोलिपल्ट सर्वोच्च अदालतको आगो निभेको ‘कदम प्रस्ट साथ भन्न चाहन्छु’, भनेर नै दाबी गरे।
तेस्रो दिन ललितपुरको दमकल आएर आगो निभाएको कुरा अरू कसैले नभई प्रधानन्यायाधीश राउतले नै भनेका हुन्। पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्ताका क्रममा उनले उक्त कुरा भनेका थिए।
प्रधानन्यायाधीश राउतले भदौ २६ गते आफू पुग्दा सर्वोच्चमा आगो लागिरहेको बताएका थिए। ‘२६ गते हामी आयौँ, म २६ गते आउँदा पनि आगो लागिराखेको थियो। त्यसको गन्ध त आजसम्म पनि छ,’ अन्तर्वार्तामा प्रधानन्यायाधीश राउतले भनेका थिए, ‘त्यतिखेर म आउँदा रापै थियो, बलिराखेको थियो।’
त्यही दिन प्रधानन्यायाधीश राउतले जलिरहेकै भवनको कम जलेको कोठामा ‘फुल कोर्ट’ बैठक नै बसालेका थिए। ‘बैठक बस्ने बेला नै मैले २६ गतेका दिन ललितपुरको मेयर साब(चिरिबाबु महर्जन)लाई भनेर दमकल मागेर उहाँले पठाइ पनि दिनुभयो,’ प्रधानन्यायाधीश राउतले अगाडि भनेका थिए।
बलेको निभाउन पनि अप्ठेरो भएको उनले बताएका थिए। ‘भवन मात्रै भएन, त्यहाँ मिसिल बलिराखेको छ, त्यसमा पानीले निभाउँदा मिसिल गइहाल्छ फेरि। आगोले पनि मिसिल जाने, पानीले पनि मिसिल जाने,’ अन्तर्वार्तामा उनले भनेका छन्। त्यसपछि सबैजसो कर्मचारी पनि आएर अहोरात्र लाग्दा सजिलो भएको पनि प्रधानन्यायाधीश राउतको भनाई थियो।
त्यही अन्तर्वार्तामा प्रधानन्यायाधीश राउतले आफू २५ गते नै अदालत आउन चाहेको भए पनि सेनाले आउन नदिएको आशय व्यक्त गरेका छन्। ‘२५ गते म यहाँ आउन खोजेँ, सेनाले अहिल्यै त्यहाँ तपाईँ नजाँदा ठिक हुन्छ भन्ने कुरा भयो। सेनाले यतातिर आउनलाई सुरक्षित नहुने आशय प्रकट गरिसकेपछाडि मैले बलमिचाइँ गर्न पनि उपयुक्त हुन्छ जस्तो मलाई लागेन,’ प्रधानन्यायाधीश राउतले भनेका छन्।
प्रकाशित: ३१ आश्विन २०८२ १७:०९ शुक्रबार





