१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जब महेश बस्नेतलाई आरआर क्याम्पसमा एक युवाले ‘कालो ज्याकेट’ देखाए...

नेकपा एमालेका नेता महेश बस्नेतलाई काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा सम्बोधनका क्रममा एक युवाले कालो ज्याकेट देखाएर विरोध जनाएका छन्।

बिहीबार अनेरास्ववियु आरआर क्याम्पस कमिटीद्वारा आयोजित अन्तर क्याम्पस भलिबल प्रतियोगिताको फाइनल खेलको समापन समारोहलाई बस्नेतले सम्बोधन गरिरहँदा दर्शकदीर्घामा रहेका एक युवाले कालो ज्याकेट देखाउँदै विरोध गरेका हुन्।

बस्नेतले मन्तव्य राखिरहँदा ती युवाले कालो ज्याकेट देखाएपछि प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लिन खोजेको थियो। तर, मञ्चबाटै बोल्दै नेता बस्नेतले प्रहरी र आफ्ना कार्यकर्तालाई ती युवालाई नरोक्न आग्रह गरे।

उनले भने, ‘ठिक छ, ठिक छ छोडिदिनुस्। साथीलाई छोडिदिनुस्। लोकतन्त्रमा विरोध गर्न पाइन्छ, केही फरक पर्दैन। भाइले गर्नुभएको विरोधप्रति हाम्रो कुनै आपत्ति रहेन।’

कार्यक्रम सकिएपछि नेता बस्नेतले सामाजिक सञ्जालमार्फत ती युवाको परिचय खुलाएका छन्। बस्नेतको दाबी अनुसार विरोध गर्ने युवा नेकपा एकीकृत समाजवादीका स्थानीय नेता हुन्।

बस्नेतले लेखेका छन्, ‘आज रत्न राज्य क्याम्पसमा भएको भलिबल प्रतियोगिताको फाइनल कार्यक्रममा ज्याकेट देखाएर आफ्नो असन्तुष्टि प्रकट गरेको युवा बनेपा बस्ने बेथानचोक–६ का नेकपा एसका वडा कमिटिको अध्यक्ष रहेछन्।’

उनले फरक विचार राख्नेहरूलाई अरूको उक्साहटमा नलाग्न समेत आग्रह गरेका छन्।

सम्बोधनका क्रममा बस्नेतले त्रिवि क्रिकेट मैदानको प्रसङ्ग कोट्याउँदै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरे।

केपी ओली नेतृत्वको सरकारले बजेट हालेर बनाएको खेल मैदानको जस लिँदै कुलमानले उद्घाटन गरेकोमा उनले असन्तुष्टि पोखे।

बस्नेतले भने, ‘केपी ओलीले बजेट हालेर बनाएको त्यो खेल मैदान कुलमान घिसिङले उद्घाटन गरे। कुलमानजी सोसल मिडियाका लोकप्रिय मान्छे हुन् र आफ्ना धेरै कर्तुतहरु लुकाएर लोकप्रियताको रङ दलेर हिँड्छन्। तर ठूला पूर्वाधार एमालेको पालामा बनेको थियो भन्ने उनले याद गर्नुपर्छ।’

कार्यक्रममा क्याम्पस प्रमुखले राखेको भवन निर्माणको मागलाई समर्थन गर्दै बस्नेतले वर्तमान सरकारलाई चुनौती दिए।

उनले भने, ‘अहिलेका शिक्षामन्त्री रगतको आहालमा बनेका महावीर पुनजी, ठूलो स्वरले म बोल्दैछु सुन्नुस्– रत्नराज्य कलेजको भवन बनाउनुस्। बनाउन सक्नुहुन्न भने कसरी बनाउने भन्ने कुरा हामी आएर फेरि बनाउने छौँ, जसरी ल क्याम्पस बनायौँ।’

केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अर्बौँ रकम शिक्षा क्षेत्रमा लगानी भएको दाबी गर्दै उनले अहिलेको सरकारले जनतामा निराशा मात्र बाँडेको आरोप लगाए।

नेता बस्नेतले पछिल्लो समय एमाले र यसका जनवर्गीय सङ्गठनका कार्यक्रममा अवरोध सिर्जना गर्न खोजिएको भन्दै चेतावनी दिए।

उनले बारा लगायतका जिल्लामा भएका घटना र काठमाडौंमा देखिएका अराजक गतिविधितर्फ इङ्गित गर्दै एमाले अब चुप लागेर नबस्ने बताए।

‘हामी आलोचना सहन्छौँ, कमी कमजोरी भए सुधार्छौँ,’ बस्नेतले आक्रामक हुँदै भने, ‘तर बिना गल्ती, बिना कमजोरी हामीमाथि अवरोध गरिन्छ भने– जहाँ अवरोध, त्यहाँ प्रतिरोध भन्ने सिद्धान्त हामी लिएर अगाडि बढ्छौँ।’

उनले विद्यार्थीहरूलाई कसैको उक्साहटमा लागेर अराजक नबन्न र देश निर्माणमा लाग्न आग्रह गर्दै सामाजिक सञ्जालमा भइरहेको ‘म्यानुपुलेसन’ बाट बच्न सुझाव दिए।

प्रकाशित: ४ मंसिर २०८२ २२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App