१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘कस्ता–कस्ता मान्छे प्रधानमन्त्री भए, कठै बरी देशको हालत !’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शासन सत्तामा पुगेका व्यक्तिहरूको संवेदनहीनता देखेर देशको हालतप्रति दया लागेको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले ‘दुर्गा प्रसाईंको क्यासेट’ प्रकरण कोट्याउँदै नेतृत्वको मानवीय संवेदनामै प्रश्न उठाएका हुन्।

‘क्यासेटमा हेलिकप्टर उडेको देखेपछि सेनाले नेताहरूलाई बचायो भन्दा- सुशिला कार्कीले किन बचाउने ? ती नेताहरूलाई किन बचाउने ? भनेको आवाज सुनिन्छ।’ ओलीले दाबी गरे।

उक्त आवाजतर्फ संकेत गर्दै ओलीले भने, ‘कस्ता-कस्ता मान्छे यो देशमा प्रधानन्यायाधीश भएछन्। त्यस्तै मान्छे फेरि प्रधानमन्त्री भएका छन्। त्यसै बापत (नेता नबचाऊ भने बापत) पो प्रधानमन्त्री भएका हुन् कि ? कठै बरी देशको हालत !’

ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर यति गम्भीर विषयको जवाफ नदिई बस्न नमिल्ने जिकिर गरे। उनले सरकारलाई प्रश्न गरे, ‘यो मजाक हो ? तपाईं देशको प्रधानमन्त्रीको कुर्सीमा बस्नुभएको छ। बाहिर आएको त्यो क्यासेट के हो ? नेपाली जनतालाई जवाफ दिनु पर्दैन ?’

सरकारले प्रश्नको जवाफ दिनुको साटो क्यासेट बाहिर ल्याउनेलाई नै धम्क्याउने र तर्साउने काम गरेको ओलीको आरोप थियो। ‘क्यासेट बाहिर ल्यायो भनेर मान्छे गिरफ्तार गरेर धम्काउनुहुन्छ ? मान्छे तर्साउने होइन, त्यो आवाजको सत्यतथ्य बताउनुस्,’ उनले चुनौती दिए।

अध्यक्ष ओलीले वर्तमान सरकारले देशमा आतङ्कको राज र त्रासको राजनीति चलाएको आरोप समेत लगाए। उनले देशमा अस्थिरता, अराजकता र विधिहीनता मौलाएको भन्दै अर्थतन्त्र ध्वस्त हुँदा र भ्रष्टाचारका काण्डहरू बाहिर आउँदा पनि सरकार मुकदर्शक बनेको टिप्पणी गरे।

‘कमजोर मुटु भएकाहरू तर्सेलान्, तर नेकपा एमाले र नेपाली जनता तर्सिंदैनन्,’ ओलीले भने, ‘विधिको शासन फर्काउन र संसद् पुनर्स्थापना गर्न एमाले जस्तोसुकै कदम चाल्न पनि पछि पर्दैन।’

प्रकाशित: ६ मंसिर २०८२ १७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App