दुईदिने राजकीय भ्रमणका लागि आज (आइतबार) नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पहिलो द्विपक्षीय भ्रमणका लागि दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत उडेका शाह ३ बजेर २८ मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।
भ्रमणको दोस्रो दिन भोलि शाहको उच्चस्तरीय भेटघाट र विभिन्न परियोजनाको उद्घाटन गर्ने कार्यतालिका छ। भोलि बिहान भारतको राष्ट्रपति भवनमा उनको औपचारिक स्वागत गरिनेछ।
त्यसपछि उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्। लगत्तै हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ।
द्विपक्षीय बैठकपछि दुवै प्रधानमन्त्रीले भारतस्थित भगवान् रामको जन्मस्थान अयोध्या र नेपालस्थित माता सीताको जन्मस्थान जनकपुरधामलाई जोड्ने नयाँ रेल सेवाको उद्घाटन गर्नेछन्।
अयोध्यादेखि जनकपुरधामसम्म ६०४ किलोमिटर दूरी तय गर्ने उक्त रेल हप्तामा एक दिन सञ्चालन हुनेछ। जनकपुरधामबाट हरेक शनिबार र अयोध्या क्यान्टबाट हरेक सोमबार छुट्ने रेलका प्रमुख बिसौनी (स्टपेज) मा अयोध्या धाम, गोरखपुर, बस्ती, नरकटियागञ्ज, रक्सौल, सीतामढी, मधुबनी र जयनगर रहेका छन्।
यस सेवाबाट राम र सीताको जन्मभूमिबीच सीधा रेल सम्पर्क स्थापित भई दुवै देशका श्रद्धालु रामायणसँग जोडिएका प्रमुख तीर्थस्थलसम्म सहजै पुग्न सक्नेछन्। साथै बिहार र नेपालका सीमावर्ती क्षेत्रका बासिन्दाले अध्ययन, व्यापार-व्यवसाय र परिवारसँग भेटघाटका लागि आउजाउ गर्न नयाँ विकल्प पाउनेछन्।
भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ।
दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछ। भोलि नै शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।
प्रधानमन्त्री शाहको आधिकारिक भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्।
टोलीमा स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्यसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधि गरी कुल ३५ जना सहभागी छन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ।
यसअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाहलाई बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ रास्वपाका सांसद जगदिश खरेल पुगेका थिए।
दुईदिने भ्रमण सम्पन्न गरी शाह भोलि साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ। स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिनेछन्।
प्रकाशित: ६ मंसिर २०८३ १६:२६ आइतबार





