राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजी आन्दोलनको भ्रष्टाचार, कुशासन र दलीय भागबन्डाविरुद्धको अभियानबाट आफूहरू एक इन्च पनि पछि नहट्ने बताएका छन्।
आन्दोलनको १ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग तथा मानसिक र शारीरिक पीडा भोग्नुपरेका सबैको राज्यले उपचार, पुनर्स्थापना तथा उचित हेरचाह गर्ने बताए।
उनले परिवर्तनका लागि कुनै पनि आमाको काख फेरि नरित्तिने बताए। उनले भनेका छन्,‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई, परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्।’
उनले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजका लागि भएको बलिदानलाई राष्ट्रले सधैं सम्झिरहनुपर्ने बताए।
एक वर्षअघि भएको आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई स्वतःस्फूर्त रूपमा जागेको युवा पुस्ताको आवाज भएको बताए। ‘राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता, जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो त्यो परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट ‘अस्वीकृति पत्र’ थियो’,उनले भने,‘ त्यो आन्दोलनले एउटा जबर्जस्त सन्देश दियोः यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन।’
उनले अहिले समयले आन्दोलनमा उठाइएका प्रश्नहरूको जवाफ दिने जिम्मेवारी आफूहरूलाई दिएको बताए। उनले भनेका छन्,‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।’
यस्तै उनले आफूहरूलाई रचनात्मक खबरदारी र कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर गरिराख्न आग्रह गरेका छन्।
उनले भने,‘आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ। नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ।’
प्रकाशित: २३ भाद्र २०८३ १३:५१ मंगलबार





