२४ कार्तिक २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रचण्ड–प्रभाकरको त्यो अन्तिम भावुक बैठक, के–के भयो कुराकानी?

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका नौ राजनीतिक दलको एकता सहमति भएसँगै माओवादीका दुई नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दन शर्मा ‘प्रभाकर’बिचको ४० वर्षे सहयात्रा टुंगिएको छ। दाहालले एकताको मोर्चा सम्हाल्दा शर्मा त्यो बाटोमा अघि बढेनन्। 

दाहाल र शर्मा बिचमा पछिल्लो केही वर्षयता राजनीतिक तिक्ततापूर्ण स्थिति छ। शर्माले दाहाललाई नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि दबाब दिँदा दाहालले उनलाई आफ्नो प्रतिस्पर्धी ठानिरहेका थिए। शर्माकै बलियो दबाबकै कारण दाहालले आफ्नो नेतृत्व जोगाउन पनि अहिले एकताको फन्डा गरेको राजनीतिक टिप्पणी हुँदै आएका छन्। 

पार्टी एकताको सहमतिपछि दाहालले आफ्नो नेतृत्वको अवस्था सुरक्षित नै पारेका छन्। तर, त्यसले शर्माको प्रयास भने झन् टाढा बनाएको थियो। यही कारण पनि उनी एकतामा गएनन्। यद्यपि दाहालले उनलाई अन्तिमसम्म पनि मनाउने प्रयास गरेका थिए। 

सोही प्रयासस्वरुप केही दिनअघि दाहालले शर्मासँग छलफल गरेका थिए। तर, शर्मा दाहालसँगै एकतामा जान मानेनन्। दाहालसहितका माओवादी केन्द्रका नेताले मंगलबार एकताको सहमतिलाई अनुमोदन गरिरहँदा शर्माले पत्रकार सम्मेलन गरेर छुट्टै राजनीतिक अभियानको घोषणा गरिरहेका थिए। 

यता शर्माको अनुपस्थिति माओवादी केन्द्रभित्र भने चर्को रूपमै उठिरहेको थियो। धेरैले भविष्यको नेताका रूपमा हेरेका शर्मा नै बैठकमा नहुँदा खल्लो रूपमै व्याख्या गरिरहेका थिए। 

त्यसो सोच्नेहरूलाई दाहाल सहानुभूति दर्साउन पछि परेनन्। उनले आफूले दिएको मन्तव्यको अधिकांश समय शर्माकै वरिपरि घुमिरहे। सो क्रममा शर्मासँग भएको अन्तिम छलफलको प्रशंग पनि कोट्याए। 

‘थोरै दुःख छ। हामी हिजो एकता महाधिवेशनमा, ०४८ सालमा, त्यसपछि जनयुद्धमा, शान्ति सम्झौतामा, त्यसपछि विभिन्न समयका सरकारहरूमा, सँगै काम गरेका एक जना सहयोद्धा कमरेड यहाँ पदाधिकारी, सचिवालयको बैठकमा उपस्थित हुनुहुन्न–कमरेड जनार्दन शर्मा प्रभाकर,’ दाहालले भने। 

‘यो हामी सबैलाई पक्कै पनि बडो नमिठो लागेको छ, उहाँ यहीँ हुनुपर्थ्यो,’ उनले अगाडि भने। त्यसका लागि इतिहासको सन्दर्भ र पृष्ठभूमिका कारणले र पार्टी लिडरसीपले अन्तिम समयसम्म गरेको प्रयासले शर्मा एकता अनुमोदन समारोहमा हुनुपर्ने उनले बताए। 

जेजे भन्नुछ जनवादी वातावरणमा तपाईँलाई कुरा राख्ने पूरै हक रहेको आफूले भनेको उनले बताए।  ‘त्यो वातावरण बनाइन्छ, बनाइयो पनि। लामो परामर्श बैठक तपाईँको कुरा लैजानका लागि गरिएका थिए,’ प्रचण्डले भने। पटक पटक केन्द्रीय समितिदेखि स्थायी समितिमा शर्माका कुरा राख्ने वातावरण दिएको उनले दाबी गरे। 

यस्तो परिस्थितिमा अन्यथा सोच्न भएन भनेर केही दिन अघिको बैठकमा राखेको दाहालले दाबी गरे। 

‘उहाँले त्यो दिन मसँग बडो ठन्डा दिमागले, हल्का हिसाबले भन्नुभयो, अरुबेला जस्तो आवेग, त्यो तरंगजस्तो देखिँदैनथ्यो,’ उनले भने, ‘उहाँले भन्नुभयो–४० वर्षभन्दा बढी समयदेखि तपाईँको नेतृत्वमा मैले काम गरेँ, म तपाईँलाई नेता मानेँ, उहाँले भन्नुभयो–म आज पनि नेता मान्छु।’ भोलि आफूहरू ‘केही समय फरक भएछौँ भने पनि मेरो नेता तपाईँ नै हो’ भनेर जनार्दनले भनेको दाहालले बताए। उनले भनेका शब्द नै यही रहेको उनले बताए। 

‘बडो राम्रो कुरा भन्नुभयो। अब यति भनिसकेपछाडि तपाईँ किन हिँड्नप¥यो?’ भनेर आफूले सोधेको उनले बताए। ‘यहीँ बस्नुस्, सँगै बस्नुस्। भई नै हाल्यो। मैले पनि तपाईँलाई धेरै पहिले ४० वर्षदेखि,पार्टीभित्रका तमाम अन्तसंघर्षमा तपाईँलाई बचाउन मैले गरेका संघर्ष मैले पनि सम्झिराखेको छु, तपाईँले पनि सम्झिराखेकै होला,’ आफूले भनेको कुरा दाहालले भने। कसैले जनार्दनलाई धेरै पहिले पार्टीबाट निकाल्न चाहेको कुरा पनि स्मरण गराएको उनले बताए। 

‘तपाईँलाई म माया गर्थेँ। तपाईँलाई प्रोत्साहित गर्न शान्ति मन्त्री, गृहमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री पार्टी लिडरसिपको इच्छा विपरीत त भएका होइनन्,’ उनले भने। 

अहिले प्रचण्डसँग लड्ने हैसियत पनि आफूले नै बनाइदिएको स्मरण गराएको दाहालले बताए। ‘इतिहास त गवाह छ नि त, भन्दा त्यो कुरा पनि उहाँले अस्वीकार चाहिँ गर्नुभएन,’ दाहालले अगाडि भने। 

‘उहाँले बडो मिठो ढंगले भन्नुभयो कि–म अहिले अब तपाईँलाई पनि मसँग यसले हैरान पा¥यो भन्ने भएकै छ, एक दुई वर्षदेखि। मलाई पनि अध्यक्षले यसरी पेल्न खोजेको भन्ने परेको छ। मेरो गल्ती हो कि तपाईँको? अहिले त टुंगिने भएन,’ दाहालले अगाडि सम्झिए, ‘बरु म केही समय बाहिर बसिदिएँ भने मैले पनि मेरो गल्ती केके हो? अलग ढंगले समीक्षा गर्ने अवसर हुन्छ। तपाईँलाई प्रभाकर आवश्यक रहेछ भन्ने भए फेरि भेट भइहाल्छ।’ कुरा यही रहेको उनले दाबी गरे। 

‘यही कुरा उहाँले अन्यत्र भनेका कुरासँग मिल्दैन फेरि,’ उनले भने। 

आफूसँग गम्भीर ढंगले भनेका कुरा सम्झिएर उनले आज र केही दिन अघिको बैठकमा नआए पनि भोलिको एकता बैठकमा आउन आह्वान गरे। ‘अब अलग भइसकियो हामी केही दिन। अब फर्किनुस्। पार्टी एकता घोषणा सभामा आउनुस् भन्न चाहन्छु। मेरो अपिललाई हल्का नठान्दिनुस्।’ दाहालले भने। 

प्रकाशित: १८ कार्तिक २०८२ २०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App