आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ मा उम्मेदवार रहेका वरिष्ठ नेता बालेन्द्र शाहले तेह्रथुमको म्याङ्लुङदेवी मन्दिर दर्शन गरेका छन्। तेह्रथुमबाट रास्वपा उम्मेदवार रहेका सुरेन्द्र कार्कीसँगै पुगेका शाहले मन्दिर दर्शन गरेका हुन्।
सो अवसरमा शाहले भने, ‘अहिले सामान्य भेटघाट हो। आम सभा गर्ने भाषण दिने त्यस्तो कार्यक्रमको लागि आएका होइनौँ। खासमा यो ठाउँको बारेमा पढ्नलाई त अब विकिपिडियामा पनि पढ्न सकिन्थ्यो, कुनै किताब ल्याएर तेह्रथुममा के के छ भनेर बुझ्न पनि सकिन्थ्यो। तर यही आएर यहीको हावा पानीमा भिजेर, यहीको माटोमा बसेर, यहीको मान्छेलाई भेटेर यहाँ ठ्याक्कै के रहेछ भनेर आँखाले देखेर, हातले छोएर, मनले महसुस गरेपछि ठ्याक्कै यहाँ तेह्रथुम कस्तो रहेछ भन्ने कुरा थाहा हुन्छ।’
उनले थपे, ‘भोलिको दिनमा तेह्रथुमको बारेमा बोल्दा खेरि अथवा तेह्रथुमका तपाईंहरूले समस्या ल्याउँदा खेरि ठ्याक्कै आफूलाई पनि थाहा होस् भनेर हामी यहाँ आएका हौँ। तपाईँहरूलाई भेट्न खोजेका हौँ। त्यसमाथि अब यति राम्रो हाम्रो सभापति उम्मेदवार पनि हुनुहुन्छ। एकदम राम्रो इन्जिनियरिङ ब्याकग्राउन्डको। तपाईंहरूको घरघर पुग्नु पनि भएको होला। कतिको घरको नक्सा बनाउनु भएको होला, कतिको भ्यालुएसन गर्नु भएको होला।’
साथै, उनले रास्वपाका उम्मेदवार र नेता कार्यकर्तालाई जनताबित जाँदा पूरा गर्न नसक्ने वाचा नगर्न सुझाव दिएका छन्। उनले किसानले बजार नपाएको गुनासो गरेको बताउँदै त्यसमा काम गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: १० माघ २०८२ ०८:५८ शनिबार





