शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौंको पूर्वीक्षेत्रस्थित बाग्मती नदी करिडोर क्षेत्रको फोहरमैला व्यवस्थापन र सडक मर्मतबारे निरीक्षण गरेका छन् ।
घिसिङको नेतृत्वमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशव शर्मा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसाललगायतले गुहेश्वरीबाट सुन्दरीजल क्षेत्रसम्मको नदी करिडोर र सडक स्तरोन्नतिबारे जानकारी लिएका हुन् ।
मन्त्री घिसिङले बाग्मती नदी करिडोरमा देखिएको ढल व्यवस्थापन र सडक स्तरोन्नतिको समस्या तत्काल समाधान गरिने बताए । उनले काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्रमा सडक विभाग, काठमाडौं उपत्यकाका विकास प्राधिरकरण र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिबीच सडक निर्माण तथा मर्मतसम्भारमा देखिएको समन्वयको समस्यालाई छिट्टै समाधान गरिने प्रतिबद्धता जनाए ।
घिसिङले भने, ‘काठमाडौं उपत्यकाका नदीलाई सफा बनाए मात्र सहर सफा हुन्छ । त्यसैले दीर्घकालीन रूपमा ढल व्यवस्थापन योजनासहित काम गरिरहेका छौँ । ढल व्यवस्थापनका लागि प्रशोधन केन्द्रको स्थापना चरणबद्ध रूपमा गरिरहेका छौँ, नदी करिडोरका सडकलाई कालोपत्र, मर्मतसम्भार गर्नेलगायत कामलाई उच्च प्राथमिकता राखेर अगाडि बढाइएको छ ।’
चावहिल—सुन्दरीजल सडक बिस्तारका लागि बाँकी पुलको निर्माण तत्काल अगाडि बढाउन उनले आग्रह गरेका छन् ।
प्रकाशित: २९ कार्तिक २०८२ २१:३८ शनिबार





