४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

तीन पूर्वप्रधानमन्त्रीलाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्रीले भनिन्: निम्ता स्वीकार गर्नुभयो धन्यवाद

तीन पूर्वप्रधानमन्त्रीलाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निम्तो स्वीकार गरेकोमा धन्यवाद ज्ञापन गरेकी छन् । प्रधानमन्त्री निवासमा स्वागत गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ। यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।’

कार्कीले निर्वाचन लक्षित काम गर्न आफूले कार्यविभाजन गरेको बताइन । उनले भनिन्, ‘प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु। मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ।’

उनले सम्पूर्ण तयारीसहित निर्वाचन केन्द्रित काममा लागेको बताइन । ‘हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएका छौँ। भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौँ।’

चुनाव सफल बनाउन सबैले जुट्नुपर्ने बताएको उनले बताइन । उनले भनिन्, ‘अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ।’

प्रकाशित: १२ पुस २०८२ १६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App