२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

देशका हरेक समस्याको समाधान अब हामी गर्छौं: वामदेव गौतम

फाइल।

नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले देशमा विद्यमान सबै समस्याको समाधान अब आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्।

उनले अन्य शक्तिहरू असफल भएको भन्दै अब देश बनाउने जिम्मेवारी आफूहरूको काँधमा आएको बताए।

आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको उपलब्ध पदाधिकारीहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता गौतमले यस्तो उद्घोष गरेका हुन्।

‘देशका जति पनि समस्याहरू छन्, ती सबै समस्याको समाधान अब हामी गर्छौं, अरूले होइन,’ नेता गौतमले दृढतापूर्वक भने, ‘यो देशलाई सुन्दर बनाउने, युवालाई विदेशमा श्रम गर्न जानुपर्ने बाध्यता अन्त्य गर्दै नेपालमै श्रम सिर्जना गर्ने गरी देशमा ठूलो परिवर्तन ल्याउँछौं।’

उनले नवगठित पार्टीले संविधानले परिकल्पना गरेको समाजवाद निर्माण गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। ‘नेपालमा अब हामीले समाजवाद निर्माण गर्छौं,’ उनले भने, ‘संविधानले निर्देशन गरेको समाजवाद निर्माण गरेर नेपालको सुरक्षा र रक्षा गर्ने, जनताको विकास र समृद्धि गर्ने र देशलाई निरन्तर अगाडि बढाउने हाम्रो लक्ष्य हो।’

बैठकले पार्टी एकताको सन्देश र आगामी कार्यदिशाबारे जानकारी दिन सातवटै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्ने निर्णय गरेको नेता गौतमले जानकारी दिए। ‘हामीले सातवटा प्रदेशमा सन्देश सभा दिने निर्णय गरेका छौं,’ उनले भने, ‘त्यसको मिति र स्थानबारे हामी छिट्टै जानकारी दिन्छौं।’

यी कार्यक्रममार्फत पार्टीले देशैभरि शक्तिको ज्वाला सिर्जना गर्ने र आफूहरू नै देशको वास्तविक शक्ति भएको सन्देश दिने बताए।

प्रकाशित: ३० कार्तिक २०८२ २०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App