नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने बताएका छन्।
बुधबार ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै डा. महतले विगतमा गठबन्धन गर्दा पार्टीलाई फाइदाभन्दा बढी नुकसान भएको निष्कर्ष निकाल्दै अब कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रमा एकल प्रतिस्पर्धामा उत्रिने बताएका हुन्।
प्रवक्ता महतले कांग्रेस अब आफ्नै बलमा उभिनुपर्नेमा जोड दिए। उनले भने, ‘हामी अबको आम निर्वाचनमा कसैको साथ खोज्दैनौँ। आफ्नै एकल बलमा लड्छौँ। १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार हुन्छन्।’
उनले गठबन्धनको राजनीतिले पार्टीका मतदातामा अन्योल सिर्जना गरेको र रुख चिन्हमा भोट हाल्न नपाउँदा कार्यकर्ता निराश भएको स्वीकार गर्दै अब त्यो गल्ती नदोहोरिने प्रष्ट पारे।
डा. महतले अर्को पार्टीले भोट हालिदेला र जितौला भन्ने मानसिकता त्याग्न नेता–कार्यकर्तालाई आग्रह गरे।
‘अर्को दलको बुई चढेर वा अर्काले भोट हालिदेला भनेर बस्ने होइन,’ उनले भने, ‘हामी आफ्नै खुट्टामा उभिनुपर्छ। कांग्रेस एक्लै लड्छ भन्ने सन्देश लिएर जनतामा जाँदा मात्र पार्टी बलियो हुन्छ र जनविश्वास प्राप्त गर्न सकिन्छ।’
उनले नयाँ र पुराना सबै दलसँग कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको दाबी समेत गरे।
प्रकाशित: १६ पुस २०८२ २०:०५ बुधबार



![आज सवारी जाँचमा कडाई [तस्बिर]](https://images.nagariknewscdn.com/thumbs/2026/third-party/1772703324_Traffic1-600x400.jpg)

