नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानलाई कुनै पनि हालतमा तलमाथि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार सिरहाको लहानमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधानको रक्षाका लागि आफू कसम खाएर अघि बढेको बताए।
मुलुकलाई अहिले उत्तेजना र आवेगले नभई संयमता र सहकार्यले सम्हाल्नुपर्ने आवश्यकता औँल्याउँदै सभापति थापाले भने, ‘अहिले देश सम्हाल्नुपर्ने बेला छ। उताउलो कुरा र उत्तेजना फैलाएर देश बन्दैन। मुलुकलाई भड्खालोमा जानबाट रोक्न घृणा, द्वेष र आवेग होइन, संयमता र मिलन विन्दु आवश्यक छ।’
धेरैको सहादत र बलिदानीबाट प्राप्त संविधानका उपलब्धिलाई संस्थागत गर्दै थप अधिकारको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
‘यो संविधानले सबैको अधिकार सुरक्षित गरेको छ, तर अझै पूर्णता पाइसकेको छैन,’ थापाले भने, ‘भएका अधिकार घटाएर होइन, थपेर र सुधार गरेर अघि बढ्नुपर्छ। यसका लागि दृढ संकल्प, प्रष्ट योजना र सहकार्य आवश्यक छ।’
संघीयता कार्यान्वयनका सन्दर्भमा बोल्दै थापाले प्रदेश सरकारहरूको प्रभावकारिता र खर्च कटौतीको विषय उठाए। प्रदेश संरचनाहरूलाई ठीक ढंगले सञ्चालन गर्नुपर्ने भन्दै उनले प्रश्न गरे, ‘के यति धेरै सरकारहरू चाहिन्छ ? अब सरकारहरूको आकार र फजुल खर्च घटाउनुपर्ने बेला आएको छ।’
संसदलाई अझ समावेशी बनाउनुपर्ने तर एउटै पार्टीले बहुमत ल्याएर स्थिरता दिने गरी निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको उनको भनाइ थियो।
यद्यपि, तत्कालै विधि मिचेर परिवर्तन सम्भव नभएको भन्दै उनले सबै पक्षलाई मिलाएर अघि बढ्नुपर्ने बताए। ‘मान्छेलाई उचाल्न सजिलो छ, तर सबैलाई मिलाएर देश सम्हाल्न गाह्रो छ,’ उनले थपे।
सभापति थापाले भ्रष्टाचार नेपालको ‘महारोग’ भएको टिप्पणी गर्दै अबको पाँच वर्षमा मुलुकलाई यसबाट मुक्त गर्नुपर्ने बताए।
‘माथिदेखि तलसम्म भ्रष्टाचारको जालो छ, कुनै पनि ठाउँ चोखो छैन,’ उनले भने, ‘यसको अन्त्य माथिबाटै सुरु हुनुपर्छ। व्यक्तिको नियतले मात्र हुँदैन, बलियो संस्था, कानुन र प्रक्रियाबाट मात्र सुशासन सम्भव छ।’
आगामी पाँच वर्षमा कुनै पनि नागरिकले सडकमा गोली खानु नपर्ने र सिंहदरबार नजल्ने वातावरण बनाउन आफूहरू लागिपर्ने उनले बताए। सबै पक्षबीच संवाद, विश्वास र भरोसाको वातावरण सिर्जना गर्ने उनको दाबी थियो।
किसानले समयमै मल नपाउने जस्ता साना तर गम्भीर समस्या समाधानमा आफू केन्द्रित हुने बताउँदै थापाले भने, ‘हामी पाँच वर्ष सरकार चलाउन चाहन्छौं। हरेक महिनाको योजना र प्रगतिको हिसाब जनतासामु उभिएर दिनेछौं।’
सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका थापाले कार्यक्रम सम्बोधन गर्नुअघि लहानस्थित सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरी मधेस आन्दोलनका सहिदहरूप्रति सम्मान व्यक्त गरेका थिए।
प्रकाशित: २७ माघ २०८२ १९:२५ मंगलबार





