१८ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

नेपाललाई समृद्ध बनाउँछौं, नेपालीलाई सुखी बनाउँछौं: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्नु नै आफ्नो पार्टीको प्रमुख लक्ष्य रहेको बताएका छन्।

जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ को प्रकाशमा देशको आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरण गर्दै समाजवादको आधार तय गरिने उनले बताए।

अध्यक्ष ओलीले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूलाई कमजोर पार्न चौतर्फी षड्यन्त्र भइरहेको दाबी गरे। राम्रो काम गर्ने नेताहरूमाथि चरित्रहत्या र झुटा प्रचार गरेर जनतामा निराशा र आक्रोश फैलाउने प्रयास भइरहेको उनको भनाइ छ।

‘राम्रो काम गर्नेलाई बदनाम गर्ने र पपुलिजमको आडमा अस्थिरता निम्त्याउने खेल भइरहेको छ,’ उनले भने।

ओलीले असंवैधानिक बाटोबाट सरकार चलाउने र निर्वाचनलाई लोकतन्त्रको हितभन्दा पनि निहित स्वार्थका लागि प्रयोग गरिएको बताए। यस प्रकारको प्रतिगमनलाई पराजित गर्न सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए।

राष्ट्रियताको सन्दर्भमा बोल्दै अध्यक्ष ओलीले लिपुलेक र कालापानी नेपालको हो भन्दा देशविरोधी शक्तिहरूले आधारहीन आरोप लगाएर भ्रम छरेको बताए। उनले आफ्नो पार्टी जहिल्यै देश र जनताको पक्षमा उभिएको र राष्ट्रिय हितका मुद्दामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को प्रसंग उल्लेख गर्दै उनले श्रमिक, रोजगारदाता र सरकारको त्रिपक्षीय प्रतिनिधित्व तथा सामूहिक सौदाबाजीको अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए। तर, संसद्लाई बन्धक बनाएर संविधानविपरीत अध्यादेशमार्फत शासन चलाउने प्रयास भइरहेको भन्दै सरकारको आलोचना गरे।

निर्वाचनमा पार्टीले केही धक्का खाए पनि एमाले समाप्त नभएको अध्यक्ष ओलीले दाबी गरे। ‘यो धक्का मात्र हो, हामी समाप्त भएका छैनौं। पार्टी एकजुट छ र अझ सुदृढ भएर अगाडि बढ्नेछ,’ उनले भने।

अग्रगामी परिवर्तनका लागि सम्पूर्ण षड्यन्त्रलाई चिर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्यमा पुगेरै छाड्ने दृढता उनले व्यक्त गरे।

प्रकाशित: १४ असार २०८३ १६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App