नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशनबाट भएका निर्णयहरू सही र वैधानिक रहेको बताउँदै अदालतमा पुगेको मुद्दामा सानका साथ प्रस्तुत भएर ‘डिफेन्ड’ गर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले निर्वाचन आयोगको निर्णयमाथि प्रश्न उठेकै कारण यो विषय पुनः अदालत पुगेको सुनाए। उनले यसमाथि पुनः छलफल आवश्यक रहेको बताए।
विशेष महाधिवेशनको वैधानिकतामा आफूहरू दृढ रहेको बताउँदै थापाले भने, ‘हिजो विशेष महाधिवेशन भएको कुरा त्यहाँको हलमा सत्य थियो, निर्वाचन आयोगमा सत्य थियो र अदालतमा एकपटक सत्य भएको कुरा अहिले पनि सत्य नै हुन्छ। अब सानका साथ अदालत जाने र त्यसको डिफेन्ड गर्ने हो।’
अदालतमा विचाराधीन विषयमा विभिन्न व्यक्ति वा राजनीतिक पात्रका अभिव्यक्तिका आधारमा संस्थामाथि प्रश्न उठाउन नहुनेमा थापाले जोड दिए।
आफूलाई पनि अदालतको पछिल्लो निर्णयसँग सम्बन्धित विभिन्न सूचना आउने गरेको भए पनि त्यस्ता कुरालाई तत्कालको बहसको आधार बनाउन नहुने उनले बताए।
पात्र वा व्यक्तिका कारण संस्थामाथि प्रश्न गर्दा विश्वास घट्ने भन्दै कांग्रेसले न्यायालयप्रति पूर्ण विश्वास राख्ने र अदालतले बोलाएका बेला उपस्थित भएर आफ्नो कुरा राख्ने उनको भनाइ थियो।
यसैगरी, पार्टीभित्र विशेष महाधिवेशनमा सहभागी भएका र नभएका सबै नेता/कार्यकर्ताको हैसियत समान रहेको सभापति थापाले बताए। ‘यो पार्टी विशेष महाधिवेशनमा भाग लिने साथीहरूको मात्रै होइन, भाग नलिने साथीहरूको पनि उत्तिकै हो। सबैको हक बराबर छ, यहाँ कोही पहिलो र कोही दोस्रो दर्जाको छैन,’ उनले भने।
प्रकाशित: २४ श्रावण २०८३ १५:२९ आइतबार





