राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालले थप दुईतर्फी हवाईमार्ग विस्तार गर्ने विषय महत्वसाथ उठाउने बताएका छन्।
आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालले प्राप्त गर्नुपर्ने थप हवाईमार्गको विषयमा भारत सरकारसँग छलफल हुने जानकारी दिए। पर्यटनमन्त्री पाण्डेले भने, ‘हामीले प्राप्त गर्नुपर्ने मार्गबारे छलफल हुन्छ। अहिले सिमराबाट मात्रै विमानहरू आवतजावत गर्छन्। चीन जानेको हकमा तुम्लिङटारको मार्ग प्रयोग हुन्छ, त्यसैले हवाईमार्ग विस्तारको विषयलाई महत्वसाथ उठाउँछौँ।’
नेपालले पटकपटक थप हवाईमार्ग विस्तार गर्न भारतीय पक्षसँग आग्रह गरे पनि सकारात्मक परिणाम नआएको पर्यटनमन्त्री पाण्डेले बताए। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारले विभिन्न छुट र सहुलियत दिएको उनले उल्लेख गरे। उनका अनुसार मन्त्रिपरिषद्ले कार्ययोजना पास गरी दुवै विमानस्थललाई चलायमान बनाउने दिशा लिएको छ।
भिसा सेन्टर, अध्यागमन कार्यालय, श्रम कार्यालय, क्वारेन्टाइन र स्वास्थ्य परीक्षणसम्बन्धी कार्यालय स्थापना गर्ने, म्यानपावर कम्पनीलाई आकर्षित गर्ने तथा सरकारले सहुलियतमा दुई वर्षसम्म इन्धन, टिकटको करमा छुटलगायत सुविधा दिएको मन्त्री पाण्डेले जानकारी दिए। श्रमका लागि विदेश जाने र नेपाल फर्कनेलाई भैरहवा वा पोखरा विमानस्थलबाट उड्ने र उत्रने वातावरण मिलाइने उनले प्रतिबद्धता व्यक्त गरे।
पर्यटनमन्त्री पाण्डेले भैरहवा विमानस्थललाई विश्वभरका बुद्ध धर्मावलम्बीहरूको आकर्षणका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्विनअटर जहाजको कमीले नियमित हवाई सेवामा समस्या भएको उनले बताए।
मन्त्री पाण्डेले प्रदेशहरूसँगको समन्वय र सहकार्यमा प्रादेशिक उडानका लागि ट्विनअटर विमानको सङ्ख्या थपेर सेवालाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरे। उनले भने, ‘साना विमानको सङ्ख्या थपेर सरकारले सेवा प्रवाह गर्छ, त्यसमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति ल्याउँछौँ।’ सरकारले सुर्खेत विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने योजना बनाएको उनले जानकारी दिए।
प्रकाशित: ६ भाद्र २०८२ १९:३१ शुक्रबार





