८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले ब्युँताउन सुरेन्द्रले अघि सारे तीन सर्त

नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीलाई पहिलेकै लयमा फर्काउन र अझ शक्तिशाली बनाउन तीनवटा प्रस्ताव अघि सारेका छन्।

शनिबार सामाजिक सञ्जालमा लेख्लै उनले पार्टी रूपान्तरणका लागि अब केवल राजनीतिक शक्ति मात्र नभई देशका जटिल समस्या समाधान गर्ने विज्ञता र प्रविधिसहितको गतिशील संस्था बन्नुपर्नेमा जोड दिए।

इतिहासको ब्याजमा भन्दा पनि भविष्यको लगानीमा ध्यान दिए पार्टी पहिलेकै लयमा फर्किने मात्र नभई आधुनिक र शक्तिशाली भएर उदाउने उनको भनाइ छ।

पार्टी बचाउन र रूपान्तरण गर्न नेता पाण्डेले तत्काल तीनवटा मुख्य क्षेत्रमा काम गर्नुपर्ने बताएका छन्।

पहिलो प्रस्तावमा उनले विज्ञतामा आधारित राजनीतिमा जोड दिएका छन्। पार्टी अब भाषणमा मात्र सीमित नभई विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने प्राविधिक रोडम्याप तयार गर्नुपर्ने उनले बताएका छन्।

दोस्रो, व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्दै डिजिटल मेरिटोक्रेसी लागू गर्नुपर्ने उनको भनाइ छ।

यसका लागि आधुनिक प्रविधि र पारदर्शी मूल्यांकन प्रणाली मार्फत् हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन हुनुपर्ने उनले औंल्याएका छन्।

तेस्रो प्रस्तावको रूपमा उनले संरचित पुस्तान्तरणको मोडल अघि सारेका छन्। अनुभवी नेताहरूको ज्ञानलाई प्रयोग गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन को-लिडरसिप र मेन्टरसिपको वैज्ञानिक प्रणाली सुरु गर्नुपर्ने पाण्डेको भनाइ छ।

प्रकाशित: ७ चैत्र २०८२ १८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App