१० माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

विगतका कमजोरी सच्यायौं, नयाँ सङ्कल्पका साथ आयौं: दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा देखिएको असाधारण परिस्थितिको सामना गर्न राजनीतिक दलहरूले विगतका कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन्।

मंगलबार पार्टीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले परम्परागत शैलीले अब देशको संकट समाधान नहुने स्पष्ट पारे।

सम्बोधनका क्रममा प्रचण्डले भने, ‘सबै प्रमुख राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर विगतमा के कमी–कमजोरी भए भन्ने कुराको मूल्याङ्कन गर्न जरुरी छ। हामीले आफ्नो भागमा परेका कमीहरूको समीक्षा गरेका छौँ र तिनलाई सच्याएर रूपान्तरणसहित नयाँ तरिकाले अघि बढ्ने संकल्प लिएका छौँ।’

उनले देश अहिले असाधारण संकटको अवस्थाबाट गुज्रिरहेको भन्दै परम्परागत र चल्ते चलाते तरिकाले मात्रै परिस्थितिको सामना गर्न नसकिने जिकिर गरे।

राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्न नयाँ विचार, योजना र कार्यक्रमसहितको पहलकदमी आवश्यक रहेको उनको भनाइ थियो।

नेपालको इतिहासमै पहिलो पटक १९–२० वटा कम्युनिस्ट र समाजवादी घटकहरू एकताबद्ध भएको उल्लेख गर्दै प्रचण्डले यो एकता प्रक्रिया दिनप्रतिदिन बलियो बन्दै गएको दाबी गरे।

उनले भ्रष्टाचारमुक्त समाज, सामाजिक न्याय र समृद्धिको चाहना राख्ने हजारौँ नेता–कार्यकर्ता र सर्वसाधारण यो अभियानमा जोडिँदै गएको सुनाए।

शपथ ग्रहणपछि अब साङ्गठनिक कामले तीव्रता पाउने प्रचण्डले जानकारी दिए। ‘हामी केन्द्रीय संरचनालाई पूर्णता दिने काम गर्नेछौं। सचिवालय, पोलिटब्युरो लगायतका संरचनालाई छिट्टै अन्तिम रूप दिएर कार्यविभाजनसहित नेताहरूलाई जिम्मेवारीमा खटाउने छौं,’ उनले भने।

समारोहमा प्रचण्डले पार्टी संयोजकका रूपमा र माधवकुमार नेपालले सह-संयोजकका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

प्रकाशित: २९ पुस २०८२ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App