१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘चुनाव जित्ने हामीले हो, हामी जस्ताले नजिते कसले जित्छ ?’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले आफूले आगामी निर्वाचन ढुक्कले जित्ने दाबी गरेका छन्।

आफूजस्तो काम गर्ने र जस्तोसुकै परिस्थितिमा पनि निर्वाचन जित्ने नेतालाई जनताले पत्याउनेमा उनले पूर्ण विश्वास व्यक्त गरे।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले भने, ‘कहिले एउटा क्षेत्रमा पठाइदिन्छन्, जितेकै छौँ। कहिले अर्को क्षेत्रमा पठाइदिए, जितेकै छौँ। अहिले पनि चुनाव हामीले जित्ने नै हो। काम गर्ने हामी, हामीजस्ताले नजिते कसले जित्छ त ?’

आफ्नो जितको आधार प्रस्तुत गर्दै उनले पार्टीको महाधिवेशनमा अस्पतालको शैयाबाटै चुनाव लड्दा समेत अधिकांश मत पाएको र पार्टीले इतिहासमा कहिल्यै नजितेको क्षेत्रमा १२ हजारको मतान्तरले विजयी भएको स्मरण गराए।

‘गठबन्धनको ५ हजार जति भोट हुँदा पनि १२ हजारको फराकिलो मतान्तरले जितेको छु,’ उनले भने, ‘त्यो जिल्लाको कार्यकर्ता र जनता मेरो पक्षमा छन्।’

नेता बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाको सिंगापुर भ्रमण र संसद पुनःस्थापनाका लागि पार्टीभित्र चलिरहेको हस्ताक्षर अभियानबारे अनावश्यक हल्ला फैलाइएको भन्दै सञ्चारमाध्यमको आलोचना गरे।

उनले सभापति देउवाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए। ‘गुलाम खुकुरीले हानेर आज मर्छ कि भोलि मर्छ जस्तो अवस्थामा रहेको ८० वर्ष नाघेको वृद्ध मान्छे उपचार गर्न गएको छ। यस्तोमा पनि राजनीति गर्नु मानवीय समवेदनाको कुरा हो ?’ उनले प्रश्न गरे।

संसद पुनःस्थापनाका लागि पार्टीभित्र हस्ताक्षर अभियान चलेको विषयमा भने उनले त्यसलाई कांग्रेसभित्रको लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताए।

‘कांग्रेस ठूलो पार्टी हो, विचारको विविधता भएको पार्टी हो। सबैले आफ्नो कुरा राख्न पाइन्छ,’ उनले भने।

प्रकाशित: २६ कार्तिक २०८२ १४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App