नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विभाजन र अराजकताबाट जोगाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।
उनले मुलुकलाई अगाडि बढाउने एकमात्र बाटो सुशासन र विकास भएकोमा जोड दिँदै यसका लागि आफू र आफ्नो पार्टी दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गरे।
बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरूसँगको छलफलमा बोल्दै अध्यक्ष ओलीले देशमा पछिल्लो समय देखिएको उत्तेजनात्मक, अराजनीतिक र प्रतिशोधी गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गरे।
‘हामी सबैले मिलेर देश जोगाउनु छ। देशलाई विकास र सुशासनको बाटोमा अगाडि बढाउनु छ,’ उनले भने, ‘सामाजिक सद्भाव खल्बल्याउने र शान्ति भंग गर्ने कुनै पनि प्रयासलाई सफल हुन दिनु हुँदैन।’
आफूमाथि नियोजित प्रहार भइरहेको बताउँदै उनले भने, ‘मेरो अपराध के हो ? भ्रष्टाचार नगर्नु र विकासको नेतृत्व गर्नु नै मेरो अपराध हो भने मलाई भन्नु केही छैन। मैले राष्ट्रियताको पक्षमा दृढताका साथ उभिँदै देशलाई भूपरिवेष्ठितबाट भूजडित बनाउने काम गरेँ, के त्यो अपराध हो ?’
अध्यक्ष ओलीले सामाजिक सञ्जालको दुरुपयोग गरी घृणा र अफवाह फैलाएर समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै यस्ता गतिविधिले कसैको हित नगर्ने सुनाए।
उनले हिंसा र पृथकतावादको बाटोमा हिँडेका शक्तिहरूलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएर देशलाई ठूलो द्वन्द्वबाट जोगाएको स्मरण गरे।
सञ्चारकर्मीहरूसँगको छलफलमा उनले पत्रकारिता जगतलाई कुनै पनि दबाबमा नपरी सत्य र तथ्यको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरे। ‘प्रेस स्वतन्त्रता लडेर प्राप्त भएको हो, यसलाई कसैले खोस्न सक्दैन,’ ओलीले भने, ‘तपाईंहरू सत्यको पक्षमा उभिनुस्, सत्य बोल्न नडराउनुस्।’
अध्यक्ष ओलीले देशलाई शान्ति, स्थायित्व र समृद्धिको बाटोमा लैजान सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।
प्रकाशित: ९ आश्विन २०८२ २१:१५ बिहीबार





