२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

वास्तविक लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा बनाएका हौँ : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापित गर्न अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् ।  

शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै साहले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई संकटबाट निकाल्न नसकेको भन्दै नयाँ राजनीतिक सहकार्य आवश्यक रहेको बताए।

“फेक शासन होइन, रियल शासन चाहन्छौं,” साहले भने, “हामी अहंकारयुक्त होइन, सहअस्तित्वमा आधारित नेपाल बनाउन चाहन्छौं।”

मोर्चा सत्ता प्राप्ति, भागबण्डा वा सरकार बनाउने–गिराउने उद्देश्यले गठन नभएको उनको दाबी छ। देशको विद्यमान संकट समाधान गर्ने उद्देश्यले सात राजनीतिक शक्ति एक ठाउँमा आएको उनले बताए।

साहले अग्रगामी मोर्चाले हिमालको हित, पहाडको प्रगति र मधेसको मान बढाउने दाबी गर्दै सहकार्य लामो समयसम्म अघि बढ्ने बताए।

“हामी धेरै हिसाब गरेर मिलेका होइनौं, देशको परिस्थितिले मिल्न बाध्य बनाएको हो,” उनले भने, “यो पुरानो राजनीतिको निरन्तरता होइन, क्रमभंग हो।”

उनले विगतका गठबन्धन असफल हुनुमा नेतृत्वको इमानदारिता, वैचारिक स्पष्टता र व्यक्तिवादी प्रवृत्तिको समस्या रहेको टिप्पणी गर्दै अब टुटफुट होइन, एकता र ध्रुवीकरणको राजनीति आवश्यक रहेको बताए । साहले मोर्चालाई ‘अराजकता र तानाशाही’ विरुद्धको राजनीतिक शक्तिका रूपमा अघि बढाउने उद्घोषसमेत गरे।

प्रकाशित: २३ श्रावण २०८३ १६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App