४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं : सीके राउत

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको घटनालाई लिएर राजनीतिक रूपमा असामान्य परिस्थिति सिर्जना भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कटेजमा गएर राति सपथ ग्रहण गराएपछि यसले थप विवाद निम्त्याएको छ।

यसै क्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्न माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त माग गरेका हुन‍्। डराएर सदियौं नेपाली शासकको गुलामी गरेको भन्दै उनले अब खुलेर बोल्न आह्वान गरे।

उनले भने, ‘मधेश प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं। डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं।’

यस्तो छ राउतको स्टाटस:

मधेश प्रदेश सभाको बैठकबाट मधेश प्रदेशको स्वाययत्ता घोषणा गरौं, आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं। डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं। संविधानलाई धज्जी उडाउँदै नेपाली औपनिवेशक शासकले खटाएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेशका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथग्रहण गराउने, मधेश पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोधसाध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं। अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र ? आन्दोलनको माग बमोजिम बनेको छ। त्यसैले हामीले पनि मधेशी जनताको चाहना बमोजिम मधेश प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेशलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ।

५४ प्रतिशत जनसंख्या भएको मधेश मुठ्ठीभर नेपाली शासकको जागिर होइन, उनीहरूले भीखजस्तो दिने, अनि हामीले लिइराख्ने। उनीहरूले चलखेल गरिराख्ने, हामीले टुलुटुलु हेरिराख्ने। मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ। सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४% जनसंख्या भएको मधेशलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैं गुलाम बनाइराख्ने षड्यन्त्र विरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष जरूरी छ। नेपाली औपनिवेशिक शासनको अन्त्य गर्ने सही मौका यही हो।

प्रकाशित: २४ कार्तिक २०८२ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App