राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख देवराज घिमिरेले सरकारलाई जवाफदेही बनाउन नसके ‘सदन चलाउँदिनँ’ भन्न सक्नुपर्ने बताएका छन्।
उनले आफूले सभामुखलाई भेटेरै सरकार गम्भीर नभए सदन अवरुद्ध हुने अवस्था आउनसक्ने भन्दै ‘बल सरकारको कोर्टमा फाल्न’ आग्रह गरेको खुलासा गरे।
शुक्रबार पार्टी कार्यालयमा आयोजित ‘खुल्ला आँगन’ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले भने, ‘सदन म चलाउँदिनँ भन्नुपर्ने नि सभामुखज्यूले। सरकारलाई गम्भीर र जिम्मेवार बनाउने सभामुखको पनि जिम्मेवारी हो।’
उनले सभामुखसँगको भेटमा भएको कुराकानीबारे थप जानकारी दिँदै भने, ‘भेटघाटमा त मैले सभामुखज्यूलाई सिधै नै के भनेँ भने, तपाईंले धेरै प्रयास गर्नुभयो, धन्यवाद। तर तपाईं गम्भीर पनि हुनुहुन्छ, सदन पनि चलाइराख्नुभएको छ, यो भएन।’
रास्वपाले जेठ १३ गतेदेखि नै सदनमा निरन्तर आन्दोलन गरिरहेको बताउँदै उनले जेठ १५ मा बजेट प्रस्तुत गर्न दिएको विषयलाई सरकारले कमजोरीको रूपमा लिन नहुने चेतावनी दिए।
‘हामीले जेठ १५ गते बजेट ल्याउन दियौँ। रास्वपा इमान्दार राजनीतिक दल हो, सुसंस्कृत राजनीति गर्न खोजेको छ,’ उनले भने, ‘तर सरकारले हाम्रो मुद्दालाई गम्भीर रूपमा लिनुपर्छ। यो मुद्दा रास्वपाको मात्र होइन, ठगिएका, बेचिएका र मानव तस्करीमा परेका गरिब, दुःखी नेपाली नागरिकको हो।’
उपसभापति अर्यालले अब पार्टीले आफ्ना महत्त्वपूर्ण बैठकहरू काठमाडौं बाहिर प्रदेशहरूमा पनि गर्ने नीति लिएको जानकारी दिए। सोही अनुसार रास्वपाले आफ्नो संसदीय दलको बैठक रुपन्देहीमा आयोजना गरेको उनले बताए।
‘रास्वपाले केन्द्रीय समिति, संसदीय दल र सचिवालयका बैठकहरू सातै प्रदेशमा बेलाबेलामा गर्ने पूर्व-निर्धारित कार्यक्रम नै हो,’ उनले भने, ‘यसले प्रदेशका नेता, शुभचिन्तक र मिडियासँग अन्तरक्रिया गर्ने मौका मिल्छ।’
प्रकाशित: १६ श्रावण २०८२ १९:१३ शुक्रबार