१४ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

विपत्तिमा सरकारलाई पूर्ण सहयोग गर्छौँ, प्रश्न पनि उठाउँछौँ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिमा सरकारलाई आफूहरुले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई सहयोगको साथै उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा देखिएका कमजोरीबारे प्रश्न पनि उठाउने बताए।

उनले भने, ‘जहाँ काममा कमी छ वा आवश्यक काम भइरहेको छैन, त्यसतर्फ ध्यानाकर्षण गराउनु हाम्रो जिम्मेवारी हो। यसलाई आलोचना होइन, विपद् व्यवस्थापनमा सहयोगका रूपमा बुझ्नुपर्छ।’

यस्तै, कांग्रेसले विपद् प्रभावित क्षेत्रमा नेता तथा कार्यकर्तालाई परिचालन गरिसकेको जानकारी दिँदै  संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतकसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी समस्यासहितको नौबुँदे ध्यानाकर्षणपत्र प्रधानमन्त्रीलाई बुझाइसकेको बताए।

यस्तै, उनले सुरुङमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी प्राविधिक सहयोग लिन सरकार हिचकिचाउनु नहुने बताएका छन्।

विपद्का बेला छिमेकी वा अन्य मुलुकको सहयोग लिनु स्वभाविक भएको  बताउँदै उले भने, ‘हामीसँग भएको विज्ञताले मात्र सुरुङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी वाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु।’

यस्तै, सभापति थापाले आफू भोलि पार्टीको विपद् टोलीसहित प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा जाने कार्यक्रम रहेको जानकारीसमेत दिए।

प्रकाशित: १४ भाद्र २०८३ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App