१४ भाद्र २०८३ आइतबार
image/svg+xml
अर्थ

बाढीपिडितका लागि तिलगंगा आँखा अस्पतालले १ करोड १ लाख राहत दिने

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको  लागि तिलगंगा आँखा अस्पतालले १ करोड १ लाख रुपैयाँ नगद संकलन गरेको जनाएको छ। अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पताल, देशभित्र तथा विदेशमा रहेका शुभेच्छुकबाट प्राप्त सहयोग रकम बाढी प्रभावितलाई राहतस्वरूप प्रदान गर्ने जनाएको हो। 

यसका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको छ। अस्पतालले राहत सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा पुगेर निःशुल्क आँखा शिविर सञ्चालन गर्ने जनाएको छ। बाढीका कारण प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको तयारी छ। 

भोटेकोशीमा आएको बाढीले त्रिशूली नदी किनारमा रहेका रसुवा, नुवाकोट, धादिङ र गोरखाका केही क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको भन्दै अस्पतालले दुःख व्यक्त गरेको छ। विपत्तिमा परी नागरिक तथा विदेशी पर्यटकले ज्यान गुमाउनुपरेको घटनाप्रति अस्पतालले गहिरो संवेदना व्यक्त गरेको छ। अस्पतालले सम्पर्कविहीन भई उद्धारको पर्खाइमा रहेका सबै प्रभावितको शीघ्र उद्धार तथा स्वास्थ्यलाभको कामना गरेको छ। 

विपद्को यस कठिन समयमा नेपाल सरकारका विभिन्न निकाय, प्रदेश तथा स्थानीय सरकार राहत र उद्धारमा निरन्तर खटिरहेको उल्लेख गर्दै अस्पतालले राज्यसामु राहत, उद्धार र पुनःस्थापनाको ठूलो दायित्व आएको जनाएको छ।

प्रकाशित: १२ भाद्र २०८३ १७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App