२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

संविधान संशोधन भनेर गठबन्धन गर्‍याैं, सिन्को भाँचेनाैं: गगन

कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस-एमाले गठबन्धन सरकार आफ्नो न्यूनतम साझा कार्यक्रम र सहमतिको जगबाटै विचलित भएको बताएका छन्।

संसदमा बोल्दै उनले गठबन्धनको मुख्य आधार रहेको ७ बुँदे सहमतिका प्रमुख विषयहरू नै अलपत्र परेको भन्दै सरकारको कार्यसम्पादनमाथि असन्तुष्टि जनाए।

थापाले ७ बुँदे सहमतिको पहिलो बुँदामै रहेको संविधान संशोधनको विषयलाई उल्लेख गर्दै भने, ‘हामीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौँ भनेका छौँ। तर अहिलेसम्म सिन्को पनि भाँचेका छैनौँ।’

उनले राष्ट्रिय सभामा बहुमत आएपछि गरौँला भनेर पन्छिन नमिल्ने बताउँदै तत्काल प्रमुख प्रतिपक्षी दलसहितको संयन्त्र बनाएर काम अघि बढाउन माग गरे।

त्यसैगरी, आर्थिक सुधारको मुद्दामा पनि सरकारले गति गुमाएको उनको आरोप थियो। ‘हामीले सुरुवातमा २९ वटा कानुन संशोधन गरेर जुन ऊर्जा देखायौँ, त्यो कहाँ गयो ?’ उनले प्रश्न गरे, ‘हामीले सार्वजनिक खरिद ऐन, पूर्वाधार, कर कानुनमा सुधार गर्ने भनेका थियौँ। पूर्व अर्थसचिव रामेश्वर खनालको आयोगले दिएको ४०८ क्रियाकलापको प्रतिवेदनको ८० प्रतिशत काम सुरु पनि भएको छैन। हाम्रो फोकस कहाँ गयो ?’

उनले सरकार बनेको सुरुवाती ३-४ महिनाको गति र ऊर्जालाई फेरि एकपटक लिएर आउन सके अझै धेरै काम गर्न सकिने बताउँदै सरकार आफ्नो मुख्य प्राथमिकताबाट भड्किएको टिप्पणी गरे।

प्रकाशित: ५ भाद्र २०८२ १६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App