पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रपछि मुलुक महत्त्वपूर्ण राजनीतिक परिवर्तनको चरण पार गर्दै आर्थिक समृद्धिको अभियानमा प्रवेश गरेको बताएकी छन्।
उनले अब राजनीतिक दलहरूले देशको सामाजिक-आर्थिक विकासका लागि उपयुक्त नीति निर्माण र कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिइन्।
बिहीबार राजधानीमा आयोजित ‘राइजिङ नेपाल समिट २०२४’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो धारणा राखेकी हुन्।
“नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि हामीले महत्त्वपूर्ण राजनीतिक परिवर्तनको चरण पार गरेका छौँ,” उनले भनिन्, “अब हामी मुलुकको आर्थिक समृद्धिको अभियानलाई सफल पार्नुपर्ने परिवेशमा प्रवेश गरेका छौँ।”
उनले यो चरणलाई सफल पार्न राजनीतिक स्थायित्व कायम गरी सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माणतर्फ दृढतापूर्वक अघि बढ्नुपर्ने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले स्वदेशी तथा विदेशी लगानीको ढोका खोल्न र समृद्धिको यात्रालाई सफल बनाउन देशमा लगानी-मैत्री वातावरण आवश्यक रहेको सुनाइन्।
“नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिरहेको छ,” उनले भनिन्, “यहाँ लगानी गर्नु केवल मुनाफा कमाउने कुरा मात्र होइन, इतिहासको साझेदार बन्ने अवसर पनि हो।”
उनले सरकारले स्पष्ट नीति, उचित ऐन-कानुन र दीर्घकालीन योजना तर्जुमा गरी लगानीका लागि थप विश्वासिलो वातावरण बनाउनुपर्नेमा जोड दिइन्। “देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठूलो कारक भनेको राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो,” उनले भनिन्।
पूर्वराष्ट्रपति भण्डारीले देशको चुलिँदो व्यापार घाटा न्यूनीकरण गर्न स्वदेशी उत्पादन र उत्पादकत्व बढाउनुको विकल्प नभएको बताइन्। उनले कृषिप्रधान मुलुकले कृषि उपज नै विदेशबाट आयात गर्नुपर्ने अवस्था दयनीय र लज्जास्पद भएको टिप्पणी गरिन्।
“हाम्रो पहिचानका रूपमा रहेका पूर्वेली ढाका, पाल्पाली ढाका, भोजपुरे खुकुरी, पाटनमा उत्पादित ढलौटका मूर्ति जस्ता सामग्रीलाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुऱ्याउने योजना हामीले बनाउनुपर्छ,” उनले भनिन्।
उनले युवा उद्यमशीलता प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गर्न सके मात्र श्रम पलायनलाई निरुत्साहित गर्न सकिने बताइन्। यसका लागि प्राविधिक शिक्षालयहरूसँग सहकार्य गरी दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
प्रकाशित: ८ श्रावण २०८२ १८:०१ बिहीबार





